पहिरो पीडितको पुनः स्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री – Janadesh Daily | ePaper

पहिरो पीडितको पुनः स्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री


वाग्मती ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाहरुबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राख्नुभएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिरोग्रस्त सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताउनुभएको थियो । पौडेलले लिदीको जमिन सबैतिर धुजाधुजा भएर फाटेको र चर्केकाले पाल टाँग्ने समेत ठाउँको अभाव रहेको बताउनुभएको थियो । उहाँले त्यहाँको बस्ती स्थानान्तरणको विकल्प नरहेको भन्दै यसका लागि प्रदेश सरकारसँगै सङ्घीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी रहेको स्पष्ट पार्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले वस्ती स्थानान्तरण गर्दा रोजगारीको समेत व्यवस्था हुने गरी गरिनुपर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभएको थियो । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा वस्ती स्थानान्तरणका लागि निश्चित बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजानु पर्ने पौडेलको भनाइ थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सङ्घीय सरकारका पूर्वमन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्