पिसीआर किटले काम नगरेपछि स्वाब परीक्षणमा समस्या – Janadesh Daily | ePaper

पिसीआर किटले काम नगरेपछि स्वाब परीक्षणमा समस्या


रुकुमपश्चिम ।

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन ।

प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । काम गर्ने नभएपछि सो किट प्रयोगशालामै थन्किएको छ । निर्देशनालयले सो किटसँगै एक्सट्रयाक्सन किट पनि भदौ ३ गते प्रयोगशालामा पठाएको थियो ।

निर्देशनालयले पठाएको किटले पिसीआर परीक्षणको नतिजा दिन नसकेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिनुभयो । पिसीआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने काम गर्छन् । सो किटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको सह–संयोजक शर्माको भनाइ छ । यसअघि पनि यो किट निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पनि पठाएको बुझिएको छ । त्यहाँ पनि काम नगरेपछि फिर्ता भएका सो किट चौरजहारीमा पठाएको सह–सह–संयोजक शर्माले बताउनुभयो । किटले काम नगरेपछि फिर्ता पठाउने तयारी भैरहेको उहाँको भनाइ छ । मौखिक जानकारी यसअघि नै गराइसकिएको र लिखित जानकारीसहित किट फिर्ता पठाउने तयारी भैरहेको उहाँले बताउनुभयो ।

कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले भने किट खराब नभएको दाबी गरेको छ । किट खराब भएको होइन, पिसीआर मेशिन र किट म्याच नभएको हुन सक्ने दाबी निर्देशनालयको छ । चौरजहारीमा पठाइएका किट म्याच नभएको जानकारी आएको र उक्त किट फिर्ता मागिएको निर्देशनालयका निर्देशक रीता भण्डारीले बताउनुभयो । यी किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको र सुर्खेतमा काम गरिरहेको निर्देशक भण्डारीको भनाइ छ । मेशिन अनुसार किटले काम गर्ने वा नगर्ने भन्ने सम्भावना हुने भएकाले चौरजहारीमा रहेको पिसीआर मेशिनसँग किट म्याच नभएको तर सुर्खेतमा भने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

यसबीच चौरजहारी प्रयोगशालामा किट अभाव भएको छ । प्रयोगशालामा दैनिक सयौं स्वाब आउने गरेका छन् । तर प्रयोगशालामा किट नरहेको नगरपालिकाले जनाएको छ । प्रदेशले पठाएका किटले काम नगरेको र प्रयोगशालामा रहेका किट सकिएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो । किट खरिद गर्न आर्थिक अभाव रहेको उहाँको भनाइ छ । प्रयोगशाला स्थापनादेखि हालसम्म रु एक करोड ९६ लाख खर्च भएको छ । अब नगरपालिका एक्लैले खर्च धान्न सक्ने अवस्था नरहेको प्रमुख शर्माले बताउनुभयो । रुकुम पश्चिम, सल्यान र जाजरकोटका स्वाब पनि यहाँ नै परीक्षण हुने गरेको छ । अहिलेसम्म यसका लागि कुनै स्थानीय तहले खर्च व्यहोरेका छैनन् ।

चौरजहारी नगरपालिका—२ स्थित स्थापना भएको पिसीआर प्रयोगशालामा प्रदेश सरकारको केही लगानी भएपनि व्यवस्थापनका सम्पूर्ण कार्य नगरपालिकाले नै गर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्