यी हुन् सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी – Janadesh Daily | ePaper

यी हुन् सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी


एजेन्सी । चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको समग्र बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले गिरावट आएको छ ।

रिसर्च फर्म गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार अप्रिलदेखि जुन महिनासम्मको अवधिमा २९ करोड ५० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् ।

यो वर्षको दोश्रो त्रैमासिकमा पनि कोरोना भाइरस महामारीले स्मार्टफोनको बिक्रीमा उल्लेख्य असर पारको देखिएको छ ।

दोश्रो त्रैमासिक अवधिमा चीन बाहेक विश्वका अन्य सबैजसो देशका स्मार्टफोन बजारमा लकडाउनको अवस्था रहेको र मानिसहरु स्मार्टफोन खरीदका लागि बजारसम्म निस्किन कठीन हुँदा त्यसको असर स्मार्टफोनको मागमा देखिएको हो ।

यस अवधिमा विश्वका सबैभन्दा ठूला पाँचवटै कम्पनीले बिक्री गरेका स्मार्टफोनको संख्यामा कमी आएको पाइएको छ । गार्टनरको तथ्यांक अनुसार धेरै स्मार्टफोन बिक्री गर्ने संख्याको आधारमा विश्वका पाँच ठूला स्मार्टफोन कम्पनी यी हुन् :

१. सामसुङ : सन् २०२० को दोश्रो त्रैमासिकमा विश्वको स्मार्टफोन बजारमा सामसुङको हिस्सा १८.६ रहेको छ । यस अवधिमा सामसुङले ५ करोड ४७ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । जुन सन् २०१९ को दोश्रो त्रैमासिकको अवधिमा २७.१ प्रतिशतले कम हो ।

गत वर्षको दोश्रो त्रैमासिकमा उसले ७ करोड ५१ लाख गोटा स्मार्टफोन बेचेको थियो । सामसुङले यो एक वर्षको अवधिमा विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा समेत गुमाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासिकमा सामसुङको बजार हिस्सा २०.३ प्रतिशत रहेकोमा अहिले १८.६ प्रतिशतमा झरेको हो ।

२. हुवावे : सन् २०२० को दोश्रो त्रैमासिकमा हुवावेले ५ करोड ४१ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । विश्व स्मार्टफोन बजारमा हुवावेको हिस्सा १८.४ प्रतिशत रहेको छ । जबकी सन् २०१९ मा हुवावेको हिस्सा १५.७ प्रतिशत थियो । यद्यपि गत वर्षको दोश्रो त्रैमासिकमा भन्दा हुवावेले ६.८ प्रतिशत कम मात्र स्मार्टफोन बिक्री गरेको छ ।

चिनियाँ बजारमा आफ्नो बिक्री उल्लेख्य मात्रामा बढाउन सफल भएसँगै विश्वका अन्य बजारमा खराब प्रदर्शन हुँदाहुँदै पनि हुवावेले आफ्नो शाखलाई कायमै राख्यो । सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा हुवावेको हिस्सा ४२.६ प्रतिशत पुगेको छ । सन् २०१९ को दोश्रो त्रैमासिक रिपोर्ट अनुसार हुवावेको बजार हिस्सा १५.७ प्रतिशत थियो । सो अवधिमा हुवावेले ५ करोड ८० लाख स्मार्टफोन बिक्री गर्न सफल भएको थियो ।

३. एप्पल : अमेरिकी कम्पनी एप्पलले यस अवधिमा ३ करोड ८० लाख गोटा आइफोन बेच्न सफल भएको छ । यो सख्या गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले कम हो । सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा अन्य ब्राण्डका स्मार्टफोनको बिक्री निराशाजनक हुँदा आइफोनको बिक्री भने उत्साहप्रद रहेको थियो ।

साथै पहिलो त्रैमासिकमा भन्दा दोश्रो त्रैमासिकमा आइफोनको बिक्री बढेको थियो । विश्व स्मार्टफोन बजारमा अहिले एप्पलको हिस्सा १३ प्रतिशत छ । सन् २०१९ को दोश्रो त्रैमासिक अवधिमा एप्पलको बजार हिस्सा १०.४ प्रतिशत थियो । सो अवधिमा एप्पलले ३ करोड ८५ लाख गोटा आइफोन बेचेको थियो ।

४. शाओमी : चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले २०२० को दोश्रो त्रैमासिक अवधिमा २ करोड ६० लाख स्मार्टफोन बेच्न सफल भएको छ । गत वर्षको सोही अवधिको भन्दा २१.५ प्रतिशतको गिरावट व्यहोरेको शाओमीको बजार हिस्सा ८.९ प्रतिशतमा खुम्चिएको छ, जुन गत वर्षको दोश्रो त्रैमासिकमा ९ प्रतिशत थियो । सन् २०१९ को दोश्रो त्रैमासिकमा शाओमीले विश्व बजारमा ३ करोड ३२ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको थियो ।

५. ओप्पो : विश्वका टप फाइभ स्मार्टफोनमा पर्न सफल ओप्पोको बजार हिस्सा ८ प्रतिशत रहेको छ । चालू अंग्रेजी वर्षको दोश्रो त्रैमासिकमा ओप्पोले २ करोड ३६ लाख गोटा स्मार्टफोन उपभोक्ताको हातसम्म पूराउन सफल भएको छ ।

गत वर्षको दोश्रो त्रैमासिकमा २ करोड ८० लाख गोटा स्मार्टफोन बेचेको ओप्पोले यो वर्ष १५ दशमलब ९ प्रतिशतको गिरावट व्यहोरेको छ । यद्यपि सन् २०१९ को दोश्रो त्रैमासिकमा बजार हिस्सा ७.६ प्रतिशत रहेकोमा अहिले बढेर ८ प्रतिशत पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्