मेस्सी अनुबन्धनका लागि सिटीले थाल्यो तयारी – Janadesh Daily | ePaper

मेस्सी अनुबन्धनका लागि सिटीले थाल्यो तयारी


एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई अनुबन्ध गर्न अन्तरिक प्रक्रिया सुरु गरेको छ ।

इंग्लिस संचारमाध्यमका अनुसार मेस्सीका पिता सम्झौताबारे छलफल गर्नका लागि म्यानचेस्टर आइपुगेका छन् । मेस्सीले मंगलबार क्लबलाई पत्र लेख्दै आफ्नो सम्झौता रद्द गर्न आग्रह गरेका थिए । उनले पत्रमा आफ्नो सम्झौताको प्रावधान अनुसार नै उनलाई क्लब छाड्न दिन भनेका थिए । तर बार्सिलोनाले भने मेस्सीलाई क्लबमै राख्ने प्रयास जारी रहेको बताएको छ ।

मेस्सीले क्लबलाई पत्र लेख्नुअघि सिटीका प्रशिक्षक पेप गुआर्डीओलासँग छलफल गरेको पनि खुलेको छ । गुआर्डीओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबले लगातार सफलता हात पर्नुका साथै मेस्सीले आफूलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए । मेस्सी सिटीमा आउनुको पछाडी आफ्नो बाल्यकालदेखिका साथी सर्जियो अगुएरोसँगको सम्बन्ध पनि महत्त्वपूर्ण पाटो रहेको बुझिएको छ ।

सामाजिक संजाल इन्स्टाग्राममा मेस्सीले हाल ४ क्लबलाई मात्र फलो गर्दै आएका छन् । त्यसमा हालको क्लब बार्सिलोना र बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइजसंगै म्यानचेस्टर सिटी र चेल्सी रहेको छ । स्रोतका अनुसार मेस्सीले पछिल्लो केहि दिनमा चेल्सी र सिटीलाई फलो गर्न थालेका हुन् ।

बुधबार इन्स्टाग्राममा नै फरवार्ड सर्जियो अगुएरोले मेस्सी सिटी आउने संकेत गरेका छन् । यसअघि ‘सर्जियो अगुएरो १०’ युजरनेम राखेका अगुएरोले आफ्नो नामबाट ‘१०’ नम्बर हटाएर ‘सर्जियो अगुएरो’ मात्र राखेका छन् । यसले पनि अगुएरोले मेस्सीलाई १० नम्बर जर्सी दिन खोजेको बुझिएको छ ।

सिटीले मेस्सीलाई उनको इच्छाअनुसार नै ३ वर्षको सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ । अझ उक्त सम्झौतापछि सिटीको स्वामित्व रहेको अमरिकी क्लब न्यु योर्क सिटी एफसी बाट एमएलएसमा खेल्ने विकल्प पनि मेस्सीलाई दिइनेछ । मेस्सीले बार्सिलोनामा प्राप्त गर्दै आएको तलबलाई सिटीले पनि प्रदान गर्न सक्ने बताइसकेको छ ।

बार्सिलोना र मेस्सीबीच सम्झौता अनुसार हरेक सिजनको अन्त्यपछि मेस्सीले चाहेको खण्डमा कुनै रकम नतिरी क्लब छाड्न पाउने प्रावधान रहेको थियो । उक्त प्रावधान प्रयोग गर्न मेस्सीलाई जुन १० सम्मको मिति तोकिएको थियो । सामान्यतया सिजनको अन्त्य मे महिनामा हुने भएकाले पनि जुन १० को मिति तोकिएको हो ।

यसपटक कोरोना भाइरसका कारण सिजन जुनमा समापन भएन । च्याम्पियन्स लिग समेत पछि सरेपछि सिजन लम्बिएर अगस्टसम्म पुगेको थियो । यसकारण मेस्सीले सिजन सकिनेबितिकै प्रावधान ढिला प्रयोग गरेको उनको बुझाइ छ । तर क्लब भने यो मान्न तयार छैन ।

अहिलेको अवस्थामा मेस्सीलाई क्लब छाड्न तीन विकल्प छ । एक रिलिज क्लज बराबर ७ सय मिलियन युरो तिर्ने । अर्को खरिद गर्न चाहने क्लब र बार्सिलोनाले सहमतिमा आएर कुनै रकम तोक्ने । अर्को विकल्प मेस्सीले आफ्नो दावी सहि भनेर सम्झौता तोड्दै सिटीसँग अनुबन्ध गर्ने । तर यो विकल्प प्रयोग गर्दा बार्सिलोनाले मेस्सीमाथि सम्झौता तोडेको भन्दै मुद्दा हाल्न पाउँछ । यसको नतिजा अदालतको फैसलाले मेस्सीको भविष्य निर्धारण हुनेछ ।

विगतमा पनि मेस्सी र क्लबबीच सम्झौतालाई लिएर समस्या आउने गरेको थियो । तर यसपटक भने मेस्सीले जसरी पनि क्लब छाड्ने हठ कसेका छन् । उनले बार्सिलोनासँग अगाडि बढेको सम्झौता नविकरण छलफल बिचमै रोके । त्यसपछि क्लबलाई सम्झौता रद्द गर्न औपचारिक पत्र नै लेखे । अहिले मेस्सीका पिता सिटीसँग छलफल गर्न म्यानचेस्टर पुगिसकेका छन् । सम्भवत: मेस्सीको बार्सिलोना करिअरको अन्त्य अब औपचारिकता मात्र बाँकी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्