गलत सूचना सम्प्रेषण नगर्न कुलमानको आग्रह – Janadesh Daily | ePaper

गलत सूचना सम्प्रेषण नगर्न कुलमानको आग्रह


काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनर्नियुक्तिको विषयलाई लिएर आधार तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरेका छन् ।

‘अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु,’ कुलमानले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

चारवर्षे कार्यकाल सकिनै लाग्दा पुनर्नियुक्तिको विषयलाई जोडेर केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धिहरू हासिल भएको उनले उल्लेख गरेका छन् ।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र माननीय ऊर्जामन्त्री, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरू र आमउपभोक्ताको निरन्तरको सहयोग र हौसलाको परिणाम भएको उनको भनाइ छ । एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धिहरू हासिल गर्न सम्भव नहुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सबै नेपालीको घरमा उज्यालो पुऱ्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको सेयरधनी कार्यक्रमको प्रभाकारी कार्यान्वयन गर्ने, ठूला जलविद्युत् तथा प्रसारणलाइन आयोजनाको निर्माण गर्नेलगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उल्लेख गरेका छन् ।

Source: https://www.nayapatrikadaily.com/news-details/50088/2020-08-27

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्