राष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति – Janadesh Daily | ePaper

राष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति


जनादेश, काठमाण्डौ ।

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकले बताउनुभएको छ ।

नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले बिहीबार बेलुकी भर्चुअल माध्यमबाट आयोजना गरेको ‘बुद्धिको पाइला’ माथिको परिचर्चा कार्यक्रममा डा विमला शर्मा, रमा केसी, प्रा डा भागवत ढकाल, दीन पन्थीलगायतले देशभक्तिको भावना बोकेकोे शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता लेख्ने परम्परा संरक्षणमा समेत योगदान गरेको बताउनुभयो ।

नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार कार्यक्रममा समीक्षकहरुले व्यक्त गर्नुभएको थियो ।

उपजाति, शार्दुलविक्रीडितलगायत नौ छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छ । सविता भट्टराईले प्रकाशन गर्नुभएको कृति नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने कवि ज्ञवालीले राससलाई जानकारी दिनुभयो । विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ ।

यसअघि ज्ञवालीले विभिन्न विधाका दर्जनौँ कृतिको सम्पादन र भूमिका लेखनसमेत गरिसक्नुभएको छ । विधागत रूपमा समालोचनाका चार, निबन्ध एक, बाल साहित्य एक दर्जन, भाषणकलाको एक, भूमिकाको भूमिका एक लगायत कृति सार्वजनिक भइसकेका छन् ।

साहित्यकार ज्ञवालीको यो १८ औँ कृति हो । यसअघि उहाँका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’ लगायत कृति प्रकाशित भइसकेका छन् । भदौ लागेपछि आफूले ‘आमा’ खण्डकाव्यलाई अन्तिम रूप दिइरहेको उहाँले परिचर्चा कार्यक्रममा जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्