बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार – Janadesh Daily | ePaper

बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार


बैतडी ।


जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ ।

किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । “हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ । यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन ।”

पीडित किशोरीसँगै उहाँका श्रीमान् र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन् । सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो । पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उहाँमाथि बलात्कार भएको घटना बाहिर आएको हो । यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्