आज सेप्टेम्बर ११ अर्थात् सन् २ हजार १ को आजकै दिन अमेरिकामा आतंकवादी आक्रमण भएको दिन । आक्रमणमा ज्यान गुमाएका हजारौको सम्झनामा आज अमेरिकामा स्मृति सभा लगायतका कार्यक्रम गरिँदै छ ।
१९ वर्षअघि आजकै दिन १९ जना अपहरणकारीले चार वटा विमान अपहरण गरेर न्यूयोर्कस्थित वल्र्ड टावरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित रक्षामन्त्रालय पेन्टागनका भवनमा ठोक्काएर भिषण आक्रमण गरेका थिए ।
आन्तरिक उडानको तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्स फ्लाइट र युनाइटेड एअरलाइन्स अपहरण गरेर आतंकवादी समूहले आक्रमण गरेका थिए ।
भिषण आक्रमणबाट दुई घण्टा मै १ सय १० तले विश्व व्यापार केन्द्र ध्वस्त भयो भने करिब ३ हजारको ज्यान गएको थियो ।
आतंकवादी संगठन अल कायदका तत्कालिन प्रमुख ओसामा विन लादेनको योजना अनुसार भएको आक्रमणबाट झण्डै ६ हजार जना घाइते भएका थिए ।
विश्वलाई स्तब्ध पार्ने उक्त भयानक आक्रमणमा अमेरिका लगायत विश्वका ९२ मुलुकका नागरिक मारिएका थिए ।
आतंकवादी आक्रमणपछि अमेरिकाले अलकायदा र आतंकवादीलाई संरक्षण गरेको भन्दै अफगानिस्तान र इराक माथि सैन्य कारबाही गरेको थियो ।
नेटो नेतृत्वको सैन्य कारबाहीबाट अफगानिस्तानबाट तालिबान नेतृत्वको सरकार अपदस्थ भयो भने सैन्य अभियानको ९ वर्ष पछि अमेरिकी सेनाको गोप्य कारबाहीमा अलकायदाका प्रमूख लादेन पाकिस्तानको एबोटावाद मारिए ।
आतंकवाद विरुद्ध युद्ध छेडेको अमेरिकाले अफगानिस्तानबाट सन् २ हजार १४मा सैनिक फिर्ता गरेको थियो ।
अहिले अफगानिस्तानमा जारी १९ वर्ष लामो युद्ध अन्त्यको प्रयास अन्तर्गत अफगान सरकार र तालिबानबीच शान्ति वार्ताको तयारी भइरहेको छ ।
अमेरिका र तालिबानबीच गत फ्रेबुअरीमा शान्ति सहमति भएपछि वार्ताको मार्गप्रशस्त भएको छ ।
एजेन्सीको सहयोगमा