रु ६०० प्रतिकेजीमा बिक्री हुने असला माछा लोप हुन थाल्यो – Janadesh Daily | ePaper

रु ६०० प्रतिकेजीमा बिक्री हुने असला माछा लोप हुन थाल्यो


जुम्ला ।

लोप हुँदै असला माछा
जुम्लाको तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थालेका छन् । जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदी तथा यसका सहायक नदीहरुमा माछा पाउन छाडेका हुन् । माछा मार्दा, करेन्ट लगाउने, विषादी प्रयोग गर्ने, विस्फोटक पदार्थको प्रयोग गर्नाले सो नदीमा माछा पाइने छाडेको तिला गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु बुढाले बताए ।

नदी आसपासका क्षेत्रका स्थानीयवासीको गुजारा चलाउने माध्यम नै माछा हो । यो राम्रो आम्दानीको स्रोत पनि हो । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा यहाँका स्थानीयवासीको पेशासमेत सङ्कटमा परेको छ । खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी कृष्णबहादुर बुढाले बताए ।

सो नदीमा पाइने असला माछामात्र नभई खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजातिसमेत देखिन छाडेको यहाँका बुढापाका बताउँछन् । स्थानीय सरकारले माछा संरक्षणका क्रियाकलाप गर्न जरुरी छ । किसानलाई व्यावसायिक माछापालन गर्नतिर आकर्षित गर्न काम गर्न आवश्यक रहेको तिला– १ रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनमबहादुर बुढाले बताए । उनले भने, “माछा लोप हँुदै गएपछि मूल्य पनि निकै बढेको छ । दुई वर्षअघि माछाको मूल्य प्रतिकेजी रु ३०० थियोे । अहिले रु ६०० प्रतिकेजीमा किनबेच भइरहेको छ ।” यो मूल्य खसीको मासुको भन्दा पनि बढी हो शिक्षक उनले जानकारी दिए ।

माछा मार्नका लागि करेन्ट लगाउनु, विषादीको प्रयोग बढ्दै जानु, नदीमा फोहर मिसाउनु र पानीको बहाव दिन प्रतिदिन घट्दै जानुले माछा लोप हँुदै गएको माछा विज्ञहरु बताउँछन् । पहिले यहाँको माछा जुम्लाबाहिर निर्यात हुन्थ्यो । अहिले सदरमुकाम खलङ्गामा समेत यो माछा देखिन छाड्यो । झण्डै एक वर्षअघि जिल्लाको रारालिही, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा माछा मरेका थिए ।
तिला नदीमा पाइने लोपोन्मुख असला जातका माछा जोगाउन नदीमा करेन्ट लगाउने, विषादी प्रयोग गर्ने जस्ता कार्य रोक्न जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकीले बताए । नेपालमा २३० प्रजातिका माछाहरु पाइने गरेकामा कर्णाली नदीमै मात्र आठ प्रजातिका माछाहरु पाइने गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्