न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या    – Janadesh Daily | ePaper

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या   


सप्तरी ।

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताउनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्ष्ाितपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । मृतकको शव मङ्गलबार राति राजविराज ल्याइएको छ । प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिनुभयो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्