इन्स्टामा भाइरल ताइवानी जोडी : कसरी बने रातारात सेलिब्रिटी – Janadesh Daily | ePaper

इन्स्टामा भाइरल ताइवानी जोडी : कसरी बने रातारात सेलिब्रिटी


इन्स्टामा भाइरल ताइवानी जोडी : कसरी बने रातारात सेलिब्रिटी

एजेन्सी, ताइवान। ताइवानमा इन्स्टाग्राम प्रयोगकर्तामाझ अचेल न युवा सेलिब्रिटी, न त टिन एजरहरु, बरु ८० वर्ष नाघेको एक जोडी चर्चित बनेको छ ।

८३ वर्षीय चाङ वान जी र उनकी ८४ वर्षीया पत्नी सु शो एर इन्स्टाग्रामका सेलिब्रिटी बनेका छन् । जसको इन्स्टाग्राम फलो गर्नेहरुको संख्या छोटो अवधिमै ६ लाख नाघिसकेको छ । उनीहरुको नयाँ ‘स्टाइल’को ‘फेशन’ इन्स्टाग्राममा भाइरल बनेपछि उनीहरु चर्चित बनेका हुन् । यससँगै उनीहरुबारे ताइवानी पत्रपत्रिकाले फिचर तयार पारेका छन् ।

यो जोडीले ताइवानको सानो केन्द्रीय सहर ताइचुङ नजिकै दशकौँदेखि सानो लन्ड्री सञ्चालन गर्दैआएको थियो । वर्षौँदेखि ग्राहकहरुले अर्डर दिएका कपडा कसैले बिर्सिन्थे त कसैले लिन आउँदैनथे । जुन कपडा उनीहरु फाल्न सक्दैनथे ।

यस्तैमा चाङका ३१ वर्षीय नाती रिफ चाङले ती थन्किइराखेका कपडा वृद्ध जोडीलाई लगाइदिएर मोडलिङ गराइदिने आइडिया निकाले । ‘मेरा हजुरबा र हजुरआमा व्यवसाय खस्किन थालेपछि बेकामी बनेर सडकमा भौँतारिरहेका थिए, तर म उनीहरु रमाउने खालको केही नयाँ काम पत्ता लगाउन चाहन्थेँ,’ रिफले भने ।

‘यी कपडाको मोडलिङबाट मैले ३० वर्ष कान्छो भएको महसुश भयो,’ चाङ वान जीले भनेका छन् । वान जीकी पत्नी सु पनि यस्तो कामबाट आफू खुसी बनेको प्रतिक्रिया दिन्छिन् । उनले मिडियासामु भनेकी छन्, ‘धेरै मानिसले मलाई तिमी त चर्चित भयौ, र निकै कम उमेरको देखिन्छ्यौ भन्छन् ।’ उनी थप्छिन्, ‘म उमेरमा बुढी भइसकेँ, तर मेरो मनलाई बुढेसकाल लागेको छैन, म सुन्दर कपडा लगाएर बाहिर रमाइलो गर्न जान मन लाग्छ ।’

यसवाहेक सु ले ३० वर्षअघि आफैँले किनेका कपडा पनि यसबीचमा भेटिन् । र ती कपडा उनले अहिले पनि लगाइन् । जुन अनौठो खुसियाली भएको ठान्छिन् । उनीहरुको इन्स्टाग्राम एकाउन्ट ‘एटवान्टशोयास्योङ’ हो । जुन उनीहरुका नाती रिफले चलाउँदैआएका छन् ।

जुन इन्स्टाग्राम विदेशमा समेत चर्चित बन्न थालेको छ । ४ लाख प्रशंसकले पछ्याएका छन् । यो अनौठो जोडीको पसलको नाम ‘वान शो’ हो । उनीहरुको नयाँ कामसँगै पसलको बारेमा पनि चर्चा सुरु भएको छ । चाङ जोडीले ६० वर्षअघि विवाह गरेको थियो । त्यसबेलादेखि नै ताइवानमा यो व्यवसाय सुरु गरेका थिए ।

Source: http://annapurnapost.com/news/162698

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्