चक्रपथको काम तत्काल शुरु हुने – Janadesh Daily | ePaper

चक्रपथको काम तत्काल शुरु हुने


वाग्मती ।

वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ ।

कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ । कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला निर्माणको काम गरिसकेको तथा प्रदेश सरकारले करिब एक किलोमिटर सडक ढलान निर्माणको काम सकेको तथा चक्रपथमा पर्ने दुई पुलसमेत बनिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

उपत्यकाका काँठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने आफूहरुको ३० वर्षअघिदेखिको सपना रहेको भन्दै उहाँले लामो र ठूलो सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब निरन्तरता पाउने बताउनुभयो ।

चक्रपथले काँठ क्षेत्रको संस्कृति, भाषा र आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नुका साथै आर्थिक एवं सामाजिक विकासमा टेवा पु¥याउने, पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले चक्रपथको निर्माणपछि उपत्यकाको नजिक भएर पनि विपन्न भएर बाँच्न वाध्य काँठ क्षेत्रको आर्थिक अवस्था सुधार हुने बताउनुभयो ।

मन्त्री फुँयालले केही दिनअघि काँठ चक्रपथअन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको वडा नं. १ र २ का साथै टोखा नगरपालिकामा पर्ने मालुङ, साङला र जितपुर क्षेत्रको अनुगमसमेत गर्नुभएको थियोे । अनुगमनका क्रममा तारकेश्वर र टोखा नगरप्रमुखलाई आफ्नो क्षेत्रमा पर्ने सडकखण्डको निर्माण गर्न प्रतिवद्ध रहन तथा आवश्यक बजेटका लागि सहज वातावरण निर्माण गर्न उहाँले अनुरोध गर्नुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्