जनादेश, काठमाडौं ।
यो वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ले प्राप्त गरेको छ ।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पुरस्कार हंसलाई प्रदान गर्ने निर्णय गरेको हो।
त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी ३ लाख रुपैयाँ रहेको छ। दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमका दिन अर्पण गरिँदै आएकोमा यसपटक कोरोनाका कारण अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।