लिपुलेक कालापानीमा सुरक्षा फौज थप्दै भारत, स्थानीय वासिन्दा भन्छन्- नाइट भिजन घुम्छ – Janadesh Daily | ePaper

लिपुलेक कालापानीमा सुरक्षा फौज थप्दै भारत, स्थानीय वासिन्दा भन्छन्- नाइट भिजन घुम्छ


जनादेश, पत्रपत्रिका अपडेट ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपिरहेको आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको छ ।

उच्च स्रोतलाई उदृत गर्दै सुरेन्द्र काफ्लेले लेखेको समाचारमा अतिक्रमित भूमिमा भारतीय चार सुरक्षा निकालिपयका आधुनिक हतियारसहित ११ क्याम्प राखिएका छन्।

अतिक्रमित क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाउँदै भारतीय फौजको अखडा बनाइएको छ।

त्यहाँ भारतीय सेना, सीमा सुरक्षा बल (एसएसबी), भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) पहिल्यैदेखि तैनाथ छन्। पछिल्लो समय गोर्खा सैनिक पनि खटाइएका छन्। नाकामा एसएसबीका १९ पोस्ट छन्।

भारतीय सञ्चारमाध्यम ‘अमर उजाला’ले लिपुलेक क्षेत्रमा भारतीय सुरक्षा फौज थप गर्नेदेखि सैनिक क्याम्प र ब्यारेक सुधारका काम भइरहेको समाचार दिएको छ। उक्त पत्रिकाका अनुसार नाभीडाङ र लिपुलेकबीच सुरक्षा फौजको पुरानो मोर्चा सुधार गर्न लागिएको हो। चीनतर्फको सुरक्षा संवेदनशीलतालाई आधार बनाएर उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज विस्तार गरिएको हो।

उक्त क्षेत्रमा नाइटभिजन हेलिकप्टरबाट निगरानीसमेत गर्ने गरिएको छ। लडाकु विमानसमेत देखिने गरेको व्यासका बासिन्दाले बताउँदै आएका छन्। अतिक्रमित कालापानी, नाभीडाङ, गुञ्जी, नाभी र कुटीमा भारतीय सुरक्षा फौजको ठूलो उपस्थिति छ। कालापानी र नाभीडाङमा सुरक्षा फौज मात्रै बसेका छन्। गुञ्जी, नाभी र कुटीमा स्थानीय बासिन्दाकै हाराहारीमा सुरक्षा फौज तैनाथ छन्।

भारतले धार्चुलाबाट लिपुलेक र लिम्पियाधुरा दुवै क्षेत्रमा सडक पुर्‍याएको छ। उक्त क्षेत्रमा हाल कति संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् भन्ने यकिन जानकारी नेपाली पक्षसँग छैन। तथापि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुग्ने सडकमा प्रत्येक दिन सयौंको संख्यामा सुरक्षाकर्मीका गाडी ओहोरओहोर गर्ने गरेका छन्।

क्षेत्रमा भारतीय सुरक्षाकर्मीको विभिन्न काम गर्न नेपाली जाने गरेका थिए। भारतले हाल नेपाली कामदारलाई त्यस क्षेत्रमा रोक लगाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्