प्रदेशसभा तोडफोड प्रकरणबारे सामाजिक सञ्जालमा जुहारी, गगन-विश्वप्रकाश पनि बोले – Janadesh Daily | ePaper

प्रदेशसभा तोडफोड प्रकरणबारे सामाजिक सञ्जालमा जुहारी, गगन-विश्वप्रकाश पनि बोले


जनादेश अपडेट

प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रदेश सरकारको प्रस्तावका कारण सुरु भएको तनावले सोमबार प्रदेश पाँच प्रदेश सभामा वितण्डा मच्चिन पुग्यो ।

प्रदेश पाँचको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रदेससभा सदस्यले सरकारको विरोधमा संसद अवरोध मात्र गरेनन् कुर्सी र माइक पनि तोडफोड गरे ।

यो प्रकरणपछि सामाजिक सञ्जालमा कुर्सी तोड्नेहरुको व्यापक आलोचना भएको छ । राजधानीबारेको निर्णयमा विरोध जनाउने राजनीतिक मुद्धा समेत छायाँमा पर्ने अस्था देखिएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापाले गल्ती गर्नैलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन्। प्रदेशसभा ५ मा दिउँसो कांग्रेसका सांसदहरूले तोडफोड गरेको घटनाप्रति लक्षित गर्दै नेता थापाले सोमबार साँझ ट्विटमार्फत् यस्तो धारणा राखेका हुन्।
उनले कांग्रेसको नीति तथा संसदीय मर्यादा र प्रतिष्ठा बाहिर गएर प्रदेशसभाका सांसदहरूले कुर्ची तोडफोड गरेको समेत उल्लेख गरेका छन्।

‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट आज भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्,’ नेता थापाको ट्विटमा लेखिएको छ, ‘आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नैपर्छ।’

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउनुपर्ने उल्लेख गर्दै नेता थापाले संसदीय अभ्यासभित्र रहेरै आफ्ना आवाज उठाउनुपर्ने समेत उल्लेख गरेका छन्। नेता थापाले कांग्रेसले प्रतिपक्षको भूमिकाबारे आफ्ना सांसदअरूलाई सिकाउन नसकेको समेत उल्लेख गरेका छन्। ‘प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो,’ ट्विटमा लेखिएको छ।

प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारका असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउने उनको तर्क छ।

त्यस्तै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि प्रदेशसभा बैठकमा कांग्रेसका केही सांसदले कुर्सी र टेबुल भाँचेको घटनाप्रति आपत्ति प्रकट गरेका छन् । यस्तो कार्यको विरोध गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छिटफुट घटना भनेर ढाकछोप नगर्ने बताएका हुन् ।

‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाइको पद्धति हो, परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य हाम्रै हो’,उनले भने, ‘अरुका गल्ती सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटफुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

उनले सांसदले गरेको कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको प्रतिक्रिया दिए ।

‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन’, शर्माले भनेका छन् ।

कांग्रेस नेताहरुले आफ्ना सांसदको आलोचना गर्दा कम्युनिष्टहरुलाई पाठ पढाउन खोजेको भन्दै नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले व्यङ्ग्य गरेका छन् । उनले यस्तो हर्कत गर्नेलाई कारवाही गरेर देखाउन चुनौति दिएका छन् ।

प्रदेशसभामा कांग्रेसका प्रदेशसभा सदस्यले देखाएको व्यवहारप्रति चौतर्फी व्यङ्ग्य र आलोचना भैरहेको छ । राजनीतिक विश्लेषक मुमाराम खनालले कांग्रेस र नेकपाले संघीयतामात्र होइन मुलुकलाई नै घाँडो बनाएको टिप्पणी गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्