रेडियो एफएम स्थापना – Janadesh Daily | ePaper

रेडियो एफएम स्थापना


सिञ्जा ।


गुठीचौर गाउँपालिकाले आफ्नै लगानीमा रेडियो एफएम स्थापना गरेको छ । स्थानीय जनतामा सूचनाको पहुँच बढाउने उद्देश्यले जुम्ला जिल्लास्थित उक्त गाउँपालिकाले स्थापना गरेको ९८दशमलव ४ मेगाहर्जको उक्त एफएमले परीक्षण प्रशारण गर्न थालिसकेको छ ।

उक्त एफएमका लागि रिलेटावर स्थापना गर्न सो गाउँपालिकाले बजेटसमेत विनियोजन गरिसकेको छ । रेडियो स्थापनाका लागि हालसम्म रु २४ लाख लगानी भइसकेको र अन्य आवश्यक उपकरण र क्षमता विस्तारका काम भइरहेको जनाइएको छ ।

कोराना भाइरस रोकथामलगायत विकास तथा निर्माणका विभिन्न सूचना सम्प्रेषणका लागि यो एफएमले सहज गराएको र गाउँपालिकाको कार्यविधि अनुसार नै यो कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले स्थानीय निकायका हरेक गतिविधि जनताले थाहा पाउने अधिकार सुनिश्चित गर्न यो एफएम सहज हुने जानकारी दिनुभयो । उक्त एफएम चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिकासहित अन्य आसपासका क्षेत्रबाट पनि सुन्न सकिने जनाइएको छ ।

रेडियोमा काम गर्ने कर्मचारीहरुको सेवा र सुविधा सुनिश्चितताका लागि कार्यविधि बनाई गाउँसभाबाट पारित गर्ने तयारी भइरहको छ । रेडियोको रिलेटावर निर्माण पछि यसको क्षमता विस्तार भइ जाजरकोट, मुगु र डोल्पामा समेत यसको पहुँच पुग्ने उक्त गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष जानुदेवी ऐडीले हामीले गरेका विकास निर्माणका काममा स्थानीय जनताले पनि सहजै थाहा पाउन सकुन् भन्ने उद्देश्यले रेडियो एफ स्थापनालाई प्राथमिकतामा राखिएकोे जानकारी दिनुभयो । रेडियोमार्फत संचार क्षेत्रको मूल्य र मान्यतालाई पनि प्राथमिकता दिइने जानकारी दिँदै उहाँले यो परीक्षण प्रशारणलाई छिटै नियमित गरिनेमा जोड दिनुभयो। स्थानीय तहले स्थापना गरेको जिल्लामा यो पहिलो रेडियो एफएम हो । गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । स्थानीयवासी उमेश न्यौपानले संचारमाध्यम लोकतन्त्रको ठूलो हिस्सा भएको र अव सञ्चार क्षेत्रका सबै गतिविधि सहजै सुन्न सहज हुने प्रतिक्रिया दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्