राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द गर्न निर्देशन – Janadesh Daily | ePaper

राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द गर्न निर्देशन


लुम्बिनी ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरण पछि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उहाँले उक्त क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले यस अघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उहाँले निर्देशन दिनुभयो ।

राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने जानकारी दिनुभयो । उहाँले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो“अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्मपनि व्यवस्थित शहर रहने गरी योजना गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौ । ”

राजधानी र नामको टुङ्गो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्