प्रचण्डले ओलीलाई दिए मन्त्री बनाउने ८ जनाको नाम, ओलीले पनि देखाए सूची, को को परे – Janadesh Daily | ePaper

प्रचण्डले ओलीलाई दिए मन्त्री बनाउने ८ जनाको नाम, ओलीले पनि देखाए सूची, को को परे


जनादेश, पत्रपत्रिका अपडेट ।

महिनौंदेखि मन्त्रिमण्डल पुनर्गठनको विषय चर्चामा आए पनि आजसम्म त्यसले मूर्तरूप लिन सकेको छैन ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ जसो हुने भेट पनि त्यसैमा केन्द्रित हुने गरेको धेरै भइसक्यो । तर,दुबै अध्यक्ष आफ्नै अडानमा रहेको कारण ‘भ्यागुताको धार्नी’ कहिल्यै नपुगेको बताइन्छ ।

विहीबार पनि दुई जना अध्यक्षबीच बालुवाटारमा लामै छलफल भयो । मन्त्रिमण्डल पुनर्गठन भन्दै दाहालले प्रधानमन्त्रीलाई एउटा लिष्ट नै दिनुभएको स्रोतको दाबी छ ।

लिष्टमा अध्यक्ष दाहालले पूर्व एमाओवादीको तर्फबाट भन्दै आठ जनाको नाम दिनुभएको हो । जसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री वीना मगरलाई कायम राख्नुपर्ने उल्लेख छ ।

नयाँ मन्त्रीका लागि पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ्गको नाम सिफारिश गरिएको छ । तर,तीमध्ये चार जनाप्रति प्रधानमन्त्री ओलीले चर्को असन्तुष्टि पोखेपछि दाहाल अप्ठेरोमा पर्नुभएको अनुमान गरिएको छ ।

प्रधानमन्त्रीले दाहाललाई लिष्टमा उल्लेख गरिएकामध्ये चार जनाको नामा हटाएर अरु नै चार जना थप्न पटक पटक आग्रह गर्नुभएको बताइन्छ । प्रधानमन्त्रीले स्पष्ट रूपमा टोपबहादुर रायमाझी,हरिबोल गजुरेल, रलेखराज भट्ट र प्रभु साहको नाम पूर्व एमाओवादीको लिष्टमा एडजष्ट गर्न भन्नुभएको हो ।

यता, दाहाललाई सुनाउँदै पूर्व एमालेको तर्फबाट प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको सूचीअनुसार नयाँ बन्ने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटा रहेका छन् । तर, प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको मन्त्रीको सूचीलाई लिएर दाहालले केही पनि प्रतिक्रिया उल्लेख नगर्नुभएको स्रोतको दाबी छ ।

त्यसक्रममा प्रधानमन्त्रीले अहिलेका मन्त्रीमध्ये अनिवार्य रूपमा दुई जनालाई तत्काल हटाउनुपर्ने बताउनु भएको थियो । पहिलो चरणमै हटाउनुपर्ने मन्त्रीहरूको सूचीमा कृषि मन्त्री घनश्याम भुसाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम सबैभन्दा अगाडि रहेको छ । यी दुई जनालाई कुनैपनि हालतमा मन्त्री पदमा निरन्तरता दिन प्रधानमन्त्री अनिच्छुक रहनुभएको हो ।

यसैबीच प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमसँग हिजो गर्नुभएको भेटको सूचना बाहिरिएसँगै आज गौतम पत्नी तुलसा थापाको नाम मन्त्रीमा राखेर त्यतैबाट आउनुलाई ‘बाघ कराउनु र बाख्रा हराउनु’ को संयोग मात्र मान्न नसकिने स्रोतको दाबी छ ।

जनाआस्था साप्ताहिकबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्