छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै – Janadesh Daily | ePaper

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै


दार्चुला ।


जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन । सोही क्षेत्रमा हरेक वर्ष प्रसिद्ध क्षत्ति जात्रा लाग्ने ठाउँमा सञ्चारविहिन हुँदा समस्या भएको भन्दै गाउँपालिकाको पहलमा नमस्ते टावर जडान गरिन लागेको हो ।

सञ्चारबाट टाढा रहेका बस्तीलाई सञ्चारसँग जोड्ने गरी अहिले तिव्रताका साथ टावर जडानको कार्य भइरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । यो क्षेत्र सञ्चारबाट निकै विकट थियो । गाउँपालिकाका अन्य क्षेत्रमा सञ्चार भए पनि यहाँका नागरिकले फोन गर्न वडा नम्बर ४ को गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो । सो क्षेत्रमा छिट्टै टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको अध्यक्ष मन्यालको भनाइ छ ।

अपिहिमाल–६ सितोला क्षेत्रका लागि पनि टेलिफोन टावर जडान हुदैछ । टावर जडान भएपछि पूरै गाउँपालिका सञ्चारमा जोडिने छ । छ वडा रहेको अपिहिमाल गाउँपालिका पर्यटकीय क्षेत्र पनि हो । पर्यटक घुम्न आउने क्षेत्रमा सञ्चार हुन सकेन भने समस्या हुने भन्दै गाउँपालिकाले शुरुदेखि नै टेलिफोन टावर स्थापनाका लागि पहल गर्दै आइरहेको थियो । अहिले सांसद गणेशसिंह ठगुन्ना र गाउँपालिका अध्यक्ष मन्यालको पहलमा चाँडो टावर जडानको कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भइसकेपछि नमस्तेको टावर आवश्यक रहेको छ । यसअघि छांगरुमा स्काई फोनको टावर भए पनि राम्रोसँग काम गर्न नसक्दा समस्या थियो । छांगरुमा नमस्ते टावर जडानका लागि भवन बनिसकेको छ ।

गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरी तिहारअघि नै छांगरुमा टावर जडान गर्न आग्रह गर्नुभएको छ । छांगरुमा निर्माण भइरहेको नमस्ते टेलिफोनको टावरलाई तिहार अगावै फोर जी सेवासहित सञ्चालन गर्न आग्रह गरेको उहाँले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्