ओलीलाई प्रचण्डको सन्देश- कर्णालीमा मुख्यमन्त्रीले काम गर्न नपाए अन्य प्रदेशमा पनि समस्या – Janadesh Daily | ePaper

ओलीलाई प्रचण्डको सन्देश- कर्णालीमा मुख्यमन्त्रीले काम गर्न नपाए अन्य प्रदेशमा पनि समस्या


जनादेश वाच ।

कर्णाली नेकपामा देखिएको समस्याबारे समाधान गर्नका लागि त्यहाँका नेतालाई केन्द्रीय अध्यक्षद्वयले काठमाडौं बोलाएको एक साता वित्न लाग्दा पनि स्पष्ट समाधान प्राप्त भएको छैन ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल विना निष्कर्ष सकियो । कर्णालीका विषयमा दुई अध्यक्षले आइतबारै टुंगो लगाउने र प्रदेश स्तरका नेताहरूलाई एकै धारणाको सुझाव दिने तयारी गरिएको थियो। तर अध्यक्षद्वय बीचमा नै कुरा नमिल्दा छलफल निष्कर्षविहीन बनेको हो ।

गत बिहीबार र शुक्रबार प्रचण्डले प्रदेश स्तरका नेताहरूलाई खुमलटार बोलाएर रिपोर्टिङ लिएका थिए । शनिबार प्रधानमन्त्रीले कर्णालीका मुख्यमन्त्रीसहित नेतासँग रिपोर्टिङ लिएका थिए। सो क्रममा ओलीले अध्यक्षद्वयको सुझाव मान्न प्रदेशस्तरका नेताहरूलाई आग्रह गरेका थिए।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओली र प्रचण्डले पत्र काटेर तुरुन्त काठमाडौंमा आउन भनेका थिए।

कर्णालीमा काम गर्न नदिए अन्यत्र पनि समस्या
कार्यकारी प्रचण्डले आइतबारको भेटमा स्पष्टरुपमा कर्णाली प्रदेश सरकारलाई काम गर्ने वातावरण बनाउने दायीत्व पार्टीको भएको र त्यसमा सहयोग गर्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रचण्डले आन्तरिक खिचातानी र असयोगले समग्र नेकपालाई नै असर पुग्ने भएकाले कर्णाली प्रदेश सरकारलाई काम गर्ने वातावरण मिलाउने दायीत्व केन्द्रको भएको भन्दै ओलीलाई त्यसमा समन्व्य गर्न आग्रह गरेका छन्। ओलीले भने प्रदेशका सरकारका एकपछि अर्को कमजोरीलाई आँखा चिम्लन नमिल्ने जवाफ दिएका थिए।

ओलीले मुख्यमन्त्री शाही र उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कँडेललगायत सांसदहरुलाई प्रचण्डसँगै छलफल गर्न चाहेपनि प्रचण्डले आफूले दुबै पक्षसँग छुट्टा छुट्टै छलफल गरेकाले बालुवाटार नआउने जबाफ ओलीलाई दिएका थिए।

अविश्वासका प्रस्ताव दर्ता गर्ने नेकपाका सांसदमध्ये ८ जना ओली, ७ जना नेपाल र तीन जना प्रचण्ड समूहका सात जना सांसद छन्। नेपाल पक्षका तीन जना सांसदलाई मन्त्री बनाउन पनि मुख्यमन्त्री शाही राजी भएको बुझिएको छ।

अन्य प्रदेशमा लाग्नसक्छ धक्का

कर्णाली प्रदेशमा देखिएको विवाद राम्रोसँग समाधान नगरे अन्य प्रदेशमा समेत त्यहि समस्या सुरु हुने नेताहरुले बताएका छन्। प्रचण्डले पनि ओलीलाई कर्णालीमा अनावश्यक किचलो झिके अन्य प्रदेशबारे पनि सोच्न ओलीलाई सचेत गराएका छन् ।

कर्णालीमा प्रचण्डनिकट मुख्यमन्त्रीसँग ओली पक्षका नेता रुष्ट थिए। उनीहरुले माधव नेपाल पक्षको साथ लिएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

तर, नेपाल पक्षका नेताहरुले सो प्रस्तावबाट पछि हटेपछि सो प्रयास असफल भएको थियो।

प्रदेश १ र वागमती प्रदेशमा ओलीनिकट मुख्य मन्त्रीहरु छन्। त्यहाँ प्रचण्ड र नेपाल पक्षका नेताहरु असन्तुष्ट छन्। यी दुई प्रदेशमा असन्तुष्ट दुई पक्षले अविश्वास प्रस्ताव ल्याउने तयारी पहिल्यैदेखि गरेका हुन्।

यो पनि हेर्नुस्- 

कर्णाली प्रकरणः के प्रचण्ड ओलीसँग बदला लिने मुडमा छन् ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्