बढ्दो महँगी र बडादशैं – Janadesh Daily | ePaper

बढ्दो महँगी र बडादशैं


हिन्दूहरूको महान् चाड दशैँ घर आँगनमा प्रबेश गरिसकेको छ । दशैँको मौका छोपी व्यापारीले विभिन्न खाद्य पदार्थको मूल्यवृद्धि चरमरूपमा बढाइरहेका छन् ।

साथै, त्यस खाद्यान्नको गुणस्तरीयतामा समेत प्रश्नचिन्ह उब्जन पुगेको छ । अघिल्ला केही महिनाको तुलनामा चामल, दाललगायतका खाद्यान्नमा यसरी चर्को मूल्यवृद्धि हुँदा पनि सरकारी निकाय रमिते मात्रै भएको भन्ने जनस्तरबाट गुनासो आएको छ ।

मूलतः सीमित आयमा रहेका जनतालाई यो मूल्यवृद्धिले ढाड सेक्ने काम गरिरहेको छ । एकातिर मूल्यवृद्धि नियन्त्रण गर्न सकिएको छैन् भने अर्कातर्फ राजधानी काठमाडौं लगायतका स्थानमा नै चामल लगायतका खाद्य पदार्थको अभाव हुन सक्ने आँकलन सरकारी अधिकारीले नै गरेका छन् ।

उनीहरूका अनुसार गतवर्षको तुलनामा नेपाल खाद्य संस्थानसँग झन्डै आधाभन्दा कम चामल मात्रै स्टक रहेकाले राजधानीमा चामलको अभाव हुने संकेत देखिएको हो । हुन त सरकारी निकायले सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनका लागि सस्तो दशैँ बजार सञ्चालन गर्ने जनाएका छन् ।

तर, ती बजार अधिकांश जनताको पहुँचमा हुन्छन् भन्ने कुरालाई अहिले विश्वास गर्न सकिँदैन । त्यसैले सबैको पहुँच हुने गरी सरकारले धेरै स्थानमा यस खालका बजार सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

साथै खाद्यान्नको गुणस्तरका बारेमा पनि सरकारी निकायले बैलेमा चनाखो भएर नापजाँचको प्रक्रियालाई अगाडि बढाउनुपर्छ । साथै, चाडबाडको समयमा अभाव सिर्जना गर्ने कालो बजारियालाई पनि सरकारले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन हिच्किचाउनु हुँदैन ।

चाडपर्वका नाममा खाद्यान्न लगायत हरेक क्षेत्रमा गरिएको मूल्यवृद्धिप्रति सरकारको ध्यान जानुपर्ने कि नपर्ने ? मुलुकमा कुल जनसंख्याको ८१ प्रतिशतभन्दा बढी हिन्दूको बाहुल्यता रहेको छ ।

जसमा उनीहरुको ठूल–ठूला चाडपर्व दशै, तिहार, छठ, धान्य पूर्णिमा, तमू ल्होछार, माघी आदि हुन । यसमध्ये महान पर्व बडा दशैं पनि एक हो ।

यो आफैमा महान् पर्व पनि हो, यो पर्वलाई मासु खाने पर्वको रुपमा समेत लिने गरिन्छ र अन्य पर्वमा भन्दा धेरै बिदा हुने र आफन्तसँग रमाइलो गर्दै मासुका परिकार धेरै खाने प्रचलन विगतदेखि रहिआएको छ ।

दशैं व्यापारिक हिसावले पनि निकै फुर्तिलो पर्व हो । स्वभावत यो पर्वमा मासुको व्यापार अत्याधिक मात्रामा हुने गर्छ । यस पर्वमा बर्सेनि पशुबली विरुद्धका आवाज पनि उठ्ने गरेको अखबारमा एकातिर आएका छन् भने अर्कोतिर देशभरि नै पशुपक्षीको बली दिने संख्या कम भएको छैन ।

परम्परागत रुपमा रहेको धार्मिक तथा सांस्कृतिक मान्यता यो पर्वसँगै जोडिएको हुँदा पशुपक्षीको खपत बढी हुने गरेको हो । यस पर्वमा काठमाडौ उपत्यकामा मात्रै ६० हजार खसीबोकाको माग रहेको छ भने यस वर्ष ५० हजार खसीबोका राजधानी भित्रिने सम्बन्धित क्षेत्रका विज्ञले अनुमान गरेका छन् ।

यस पर्व मनाउनको लागि राजधानीबाट देशका विभिन्न जिल्लामा जानेको निकै ठूलो संख्यामा हुने थियो भने यस बर्ष भने कोरोनाको कहरले गर्दा न्यून मात्रा रहेको छ । यसरी महान चाडपर्वका बेला अतिरिक्त उपभोग गर्ने चिनी, दूध, घ्यूजस्ता पदार्थको मूल्य पनि मानिसको काबुभन्दा बाहिर गएको छ ।

केहीदिन अधिमात्र यस्ता पर्वहरुमा अत्याधिक प्रयोग हुने मासुको मूल्यमा बृद्धि भएको छ । त्यसको साथसाथै दूधजन्य पदार्थ ध्यू, दही, पनिर, मक्खनमा मूल्यबृद्धि भइसकेको छ । त्यस्तै गरी चिनीको मोल ८०–१०० रुपैयाँ पुगेको छ भने प्याजको मूल्य भने साह्रै आकाशिएको छ ।

चाडपर्वको सँगसँगै मानिसले अधिक उपयोग गर्न रुचाउने मासु पनि एक हो । अहिले गत वर्षको तुलनामा खसीको मासुमा दर्शै आउनुअगाडि नै प्रतिकेजी झन्डै १३ सय रुपैयाँ पुगेको छ ।

दशैंमा आर्थिक अवस्था कमजोर हुने परिवारले समेत ऋण गरेर खसी बोकाको मासु किन्छन् । सामान्य आर्थिक अवस्था भएकाले घरमै खसी बोकाको बली दिएर मासु खान्छन् दशैंमा मूल्य बढी हुने भए पनि अहिलेजस्तो चर्को मूल्य कहिल्यै नभएको खसी किन्ने उपभोक्ताहरु बताउँछन् ।

नेपाल खाद्य संस्थानले भने एक हजार खसीबोका ल्याएर अहिले जिउँदो खसीको मासु ५५० रुपैयाँ प्रतिकिलोमा विक्री हुँदै आएको बताएको छ ।

यस्तै गरी गत वर्षमा राजधानीमा मात्रै दशैको अबसरमा ३६ हजारको हाराहारीमा खसी बोकाको किनबेच भएको थियो भने यसपालीको दर्शैको लागि ५० हजारको हाराहारीमा खसी बोकाको माग काठमाडौं उपत्यकालाई रहेको सम्बन्धित क्षेत्रका विशेषज्ञको भनाइ रहेको पाइन्छ ।

नेपालमा प्रतिदिन एक अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरुको संख्या धेरै ठूलो रहेको छ । मुलुकका कम आम्दानी र बढ्दो मूल्यबृद्धिले उनीहरुको जीवनयापनमा कठिनाइ पैदा भएको छ ।

यसले गर्दा अब चाडपर्व समेत हुनेखाने, सम्पन्न, धनीमानी, उच्च वर्गका शासक, प्रशासनको मात्र मनोरञ्जन गर्ने अवसरका रुपमा परिणत हुँदैछ । र चाडपर्व विपन्न र गरीब नेपालीको पहुँच भन्दा बाहिरको विषय बन्दै गएको छ ।

राष्ट्र बैंकले प्रकाशमा ल्याएका आर्थिक विवरणले देशमा समग्र मूल्यबृद्धि ११ प्रतिशत रहेको खुलासा गरेको छ । तर व्यवहारिक रुपमा भने राष्ट्र बैंकले प्रकाशमा ल्याएको मूल्यबृद्धिको भन्दा कैयन गुणा मूल्य बढेको देखिन्छ ।

त्यसै गरी गत वर्षको तुलनामा सबै प्रकारका तरकारीमा झन्डै २ सय प्रतिशतले मूल्यबृद्धि भएको छ । यो क्रम रोकिने सम्भावना समेत देखिदैन् ।

त्यस्तै गरी खाद्यान्न, तेलहन, दलहन जस्ता बस्तु र त्यसका उत्पादनमा भएको मूल्यबृद्धि नियन्त्रण गर्नका लागि सरकारले थालेको अनुगमन, मूल्यसूची टाँसगर्ने, छापामारबाट पटक्कै प्रभावकारी बन्न सकेको छैन् ।

अन्त्यमा भन्नुुपर्दा नेपाली घर आँगन बडा दशैंको आगमन भैसकेको छ । यसैको आगमनको प्रतिक्षामा सबैे रहेका छन् । चाडबाडको पहिलो स्वागत बजारले गर्नु स्वाभाविकै हो । खाद्य पदार्थको मूल्य अकाशिँदा पनि नियन्त्रण गर्न सरकारले कुनै पहल गरेको छैन् ।

मूल्य नियन्त्रणको नाममा सरकारले दिनहुँ बजार अनुगमन गरे पनि त्यसको अनुभूति सर्वसाधारण उपभोक्ताले गर्न पाएका छैनन् । पछिल्लो एक महिनामा मात्रै विभिन्न बहानामा खाद्य वस्तुको मूल्यमा करिब १२ प्रतिशतले वृद्धि भएको छ ।

अतः चाडवाडको समयमा बर्सेनि व्यापारीले आफूखुसी मूल्य तोकेर उपभोक्तालाई ठग्दै आए पनि मूल्य नियन्त्रणको सबालमा सरकार मूकदर्शक बस्दा सर्वसाधारणको भान्छा दिनानुदिन महंगीदै गएको छ ।

बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य विभागले भने दिनहुँ गरिने अनुगमनका कारण महँगी नियन्त्रण भएको दाबी गरेको छ । तर बजार व्यवस्थापनमा सरकार, अझै सचेत नभएको अवस्थाले आम उपभोक्तामा चिन्ता छाएको छ ।

यो चाडपर्वमा अत्याधिक मात्रा कालाबजारीले मौकाको फाइदा उठाउने परम्परा सधैं जसो हुने गरेको हुन्छ । दैनिक प्रयोग हुने वस्तु चिनी र ध्यू तेल जस्ता पदार्थहरुको बजारमा दुर्लभ गराउने कालाबजारीको नियत रहेको छ ।

कृत्रिम रुपमा महँगी बढाइएको भन्ने केही पहिले सरकारले केही खाद्य भण्डारमा छापामार्दाको अवस्थामैै देखिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहेको आयोगले मूल्यबृद्धिको कारण के रहेछ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कस्तो प्रतिवेदन प्राप्त भयो त्यसको सार्वजनिक नै जनता समक्ष नगरी फेरि अर्को मूल्य नियन्त्रण समिति बनाइएको छ ।

अतः यस्तो अवस्थामा नजिकै आएको दशैं दशा सिवाय अरु केही हुन नसक्ने अवस्थामा नेपाली जनता रहेको कुरामा कसैको दुईमत नहोला ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्