बढ्दो स्वास्थ्य संकटप्रति बेवास्ता किन ? | Janadesh Daily | ePaper

बढ्दो स्वास्थ्य संकटप्रति बेवास्ता किन ?


महिनौको लकडाउन र निषेधाज्ञा आदिको प्रयोग पछि पनि कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकार नराम्ररी चुकेको छ । यसले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ ।

संक्रमितको पारो यति तीब्र गतिमा उकालिदै छ कि नेपालले आफुभन्दा ४७ गुणा बढी जनसंख्या भएको चीनलाई उछिनिसकेको पनि महिना पुग्न थालिसकेको छ ।

आस्थाका धरोहर मन्दिरका ढोका थुनिएका छन् । स्कुल, कलेज बन्द भएका छन् । ब्यापार,ब्यवसाय ठप्प भए पनि स्वास्थ्यसंस्था अहोरात्र खटिरहेका र खुलिरहेका छन् ।

कोरोना खेलवाड होईन, मृत्यु हो :

अहिले त सबैका सामु तथ्य आइसक्यो । दिनहुँ मृत्युको संख्या बढिरहेको छ । दसैंमा परीक्षण पनि कम भएकाले संक्रमितको संख्या पनि कम देखिएको मात्र हो ।

तर कतिपयले अझैं पनि कोरोना केहि होइन, रुघाखोकी जस्तै हो भन्न छाडेका छैनन् । यो बेसारपनी खाएर अनि घरमा बसेर निको पनि हुँदैन ।

जिम्मेवार तहबाटै अस्पताल आउनु पर्दैन भनेको पनि सुनिएको छ । यदि यसलाई सत्य मानियो भने घरमा बस्दै गर्दा अन्तिममा अस्पताल जाँदा धन र ज्यान दुवै जानेभन्दा बाँकी केही रहँदैन ।

सरकारी गैरजिम्मेवारीका कारण आफ्ना परिवार गुमाएका सञ्चारमाध्यममा आउन थालेका छन् । बाँकीका कुरा सुन्दा सामान्य जस्तै लागे पनि आफैलाई पर्दा र आफ्ना गुमाउँदा कति भयानक र खतरनाक रहेछ भन्ने अनुभुति हुन्छ ।

परीक्षणमा बृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालना लगायतका प्रक्रिया २ साता कडाइका साथ पालना भए संक्रमणको दरमा कमी आउन सक्छ ।

संक्रमण दरमा क्रमिक सुधार नभए, अस्पतालमा भर्ना हुने र डिस्चार्ज हुने दरमा सन्तुलनमा ल्याउन नसके शैया पाउने अवस्था कठीन हुन सक्छ । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको ब्यवस्थापन झन् कठिन बनेको छ ।

उपत्यकामा संक्रमणदर एक अंकबाट २ अंकमा उकालो निरन्तर लागीरहेकै छ । त्यसो त कोभिड संक्रमण दर २ प्रतिशतसम्म रहिरहे संक्रमितलाई जोखिम कम र स्वास्थ्यसेवा प्रणालीमा दबाब कम हुन्छ ।

तर संक्रमणको दर २ प्रतिशतभन्दा माथि जाँदा नियमित स्वास्थ्य प्रणाली प्रभावित भई बिरामीले तोकिएको समयमा उपचार पाउन सक्दैनन् । औसतमा एक बिरामी भर्ना भएपछि १४ दिनसम्म अस्पताल बस्छ ।

कोरोनाले जति फोक्सोमा संक्रमण गराउन थाल्छ, त्यति नै संक्रमितलाई बाहिरबाट वैकल्पिक अक्सिजन दिनपर्छ । सुरुमा नेजल क्यानुलाबाट १ देखि २ लिटरप्रति मिनेटका दरले भएन भने हाइफ्लो नेजल क्यानुलाबाट ४० देखि ६० लिटरप्रति मिनेटका दरले र यदि भएन भने बाईप्याप मेसिनबाट अर्थात् ननईन्भेसिभ भेन्टिलेटर अक्सिजन सर्पाेट दिनुपर्छ ।

थप नभए भेन्टिलेटर सपोर्टमा राख्नपर्छ । आईसीयुमा उपचार गराउने बिरामीमध्ये हाल करिब ३० देखि ४० प्रतिशतसम्मको मत्यु देखिएको र ७० प्रतिशतसम्म निको भएर बाहिर निस्केको देखिन्छ ।

त्यसैमा उचित समयमा अक्सिजन, रेम्डेसिभिर, प्लाज्माथेरापी चलाउन सकिए निको बनाउने दर बढछ । सुविधासहित समुदायस्तरमा तत्काल अक्सिजनसहितको सेन्टर वा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिन्छ । संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुनसक्ने भएकाले भेन्टिलेटर र आईसीयु चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्दछ ।

इन्टरनेसनल जर्नल अफ इन्फेक्टियस डिजिजको सेप्टेम्बर अंकमा राती भइरस बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन फोक्सोका बिरामीले अक्सिजन थेरापी गर्न पर्ने उल्लेख छ ।

शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसबिरुद्ध प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड १९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ । एन्टिभाईरल वा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ ।

होम आईसोलेसन वा क्रियापुत्री :

स्वाब नमुना दिइसकेपछि पनि आफुलाई परिवार र समाजबाट अलग राख्नैपर्छ । परीक्षणमा नतिजा पोजेटिभ आए घरमा आइसोलेसनको मापदण्ड पूरा हुने भए घरमा नभए संस्थागत आइसोलेसन सेन्टरमा बस्नपर्छ ।

लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा रहन तथा कडा लक्षण भएकालाई मात्र अस्पतालमा भर्ना गर्ने मन्त्रालयले गर्दछ ।

सिमित संस्थागत आइसोलेसन छन् र शैया खाली नहुँदा होम आइसोलेसनमा बस्नैपर्छ । एकान्तबास वा महिनावारीमा पर सर्नु अर्थात् क्रियापुत्रीसरह बस्नु नै आइसोलेसन हो ।

न्युनतम संक्रमण रोकथाम र नियन्त्रण :

आवश्यक न्युनतम आधारभुत आवश्यक खानेकुरा, पिउने पानी लगायत ब्यक्तिगत स्वास्थ्य र सरसफाइका लागि आवश्यक पटकपटक हात धुने र सुरक्षित शौचालय हुनपर्छ ।

छुट्टै भाडाकुडा, सरसफाई, घाममा सुकाई पुन प्रयोग तथा ब्यक्तिगत प्रयोगका सामानको ब्यवस्थापन हुनपर्छ । बस्ने कोठा उज्यालो, घाम छिर्नसक्ने र हावा ओहरदोहर गर्ने हुनपर्छ ।

घरबाहिर ननिस्कने, आफन्तसंग भेटघाट र सम्पर्क नगर्ने, यदि गर्नेपरे फोन वा सामाजिक सञ्जालमार्फत् गर्ने । भेटघाट गर्नेपर्ने भए न्युनतम २ मिटरको दुरी, दुबैले उचित मास्क लगाउने, आम्ने साम्ने नहुने र बढीमा १५ मिनेटसम्म छोटो कुराकानी गर्ने गरी गर्न सकिन्छ ।

पटकपटक हात धुने खासगरी खोक्दा, हाच्छ्युँ गर्दा स्वासप्रश्वास प्रणालीबाट निस्कने ड्रपलेटहरु छोएको वा परेको अवस्थामा साथै खाना अघि र शौचालयपछि हातको सरसफाई साबुनपानीले गर्नपर्छ ।

खोक्दा, हाच्छियु गर्दा कुहिनाको भित्रिभागले वा टिस्यु पेपरले नाक,मुख छोप्ने, तुरुन्त पेपरलाई बिर्काेसहितको फोहर फ्याक्ने टोकरीमा फाल्ने र त्यसपछि नाक, मुख सफा गर्ने बानी ब्योहोराको महत्वबारे सवैलाई बुझाई ब्यवहारमा उतार्न लगाउनपर्छ ।

अनावश्यकरुपमा नाक, मुख, ओठ, आँखा छुने बानीलाई निषेध गर्नपर्छ । आईसोलेसनमा बसेकाले आवश्यक स्रोतसाधन—संभव भए पल्स अक्सिमेट्रि, औषधीको ब्यवस्था गर्नपर्छ ।

१४ दिनभित्र कुनै लक्षण देखिए स्वास्थ्यकर्मीसंग सल्लाह लिने र सास फेर्न गाह्रो, छाती दुख्ने, ओठ तथा अनुहार निलो, होश हराए वा अन्य जटिल अवस्था देखिए आकस्मिक संझी सीआई टिमको स्वास्थ्यकर्मीलाई सम्पर्क गरी एम्बुलेन्समार्फत् अस्पताल जानपर्छ ।

होम आईसोलेसनमा बेवास्ता

भाइरसले लाग्छ भन्ने बाहेक केहि ब्यवहारिक तथा बैज्ञानिक जानकारी नपाएका संक्रमित केहि लक्षण नभएर त केहि सामान्य भएर भन्दा संस्थागत आइसोलेसन केन्द्र नपाएर ७० प्रतिशत बढी घरमै आइसोलेसनमा बसेका छन् ।

आइसोलेसनमा बसेको एक हप्ता नाघेपनि न त स्थानीय रिकार न त संघीय सरकारबाट निगरानी छ । मानसिक तनावमा छन् ।
शौचालय एउटै छ, कोठामा मिलेर ५/६ जना बसेका छन् । परिवारमा १० जना बढी छन् । शल्यक्रिया गरेका, जेष्ठनागरिक, मधुमेह, स्वासप्रस्वासका बिरामी पनि संगै छन् ।

सामान्य लक्षण हुदा घरमै बसेकामा कडा लक्षण देखिदा समेत न त अस्पतालमा शैया पाइन्छ । सरकारले त झनै बेहोश भए वा हुनलागे मात्र अस्पताल जान भन्दैछ ।

बस्ने, खानेका लागि मास्क लगाएर काममा बाहिर निस्कन बाध्य छन । तथापि होम आइसोलेसनसम्बन्धी मापदण्डमा उनीहरु स्थानीय तहको नियमित निगरानीमा छन् ।

स्थानीय हरेक स्वास्थ्यकर्मीले घरमा बसेका ५० जनाको दैनिक २ पटक फोन वा एसएमएस गरी स्वास्थ्यको जानकारी राख्नपर्छ । सरकारले प्रति बिरामी २ सय रुपैया भत्ता दिनेछ ।

स्थानीय तहले निगरानी नगरेको र मन्त्रालयको हटलाइनमा फोन गर्दा वडामा फोन गर्न भनेकाले न यता न उता भएको र घरमै मरिने हो कि भन्ने चिन्ता रहेको बताउँछन् ।

अन्तमा, आधा करोड पनि बसोबास नगर्ने उपत्यकामा संक्रमणको अवस्था भयावहउन्मुख छ । परिस्थिति नियन्त्रणबाहिर जाने संकेत स्पष्ट छ ।

त्यसैले आसन्न संकट टार्न सरकारले हरसम्भव उपाय र नागरिकले पनि परिस्थिीतिको गम्भीरताबोध गर्दे पर्याप्त सर्तकता अपनाउनु पर्छ ।
घरआगनमा दसै, तिहार तथा छठले चियाइसक्दा पनि कसैमा उल्लास छैन । न त कुनै उमंग छ, अनौठो बेचैनी, रोग, भोक र भयग्रस्त भविष्य मनोविज्ञानमा छ, सिगाें समाज ।

संक्रमितको संख्यामा नेपालले चीनलाई उछिनिरहेको छ । चीनमा ८५ हजार संक्रमित देखिए भने नेपालमा सवा लाख बढी । आजभन्दा नौ महिनाअघि कोरोनाको छिटाले छोइसकेको हामीले किन क्षति न्युन गर्न सकेनौ समिक्षा कहिले गर्ने हो ?

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्