एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राष्ट्रपतीय चुनावमा धाँधली भएको आरोप लगाएका छन् । आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी ट्रम्पको आरोप छ ।
ह्वाइट हाउसमा गरेको प्रेस कन्फरेन्समा ट्रम्पले वैध मतका आधारमा आफू विजयी भएको दाबी तर अवैध मतका आधारमा बाइडेनले जित्न चाहेको आरोप लगाए ।
विना आधार चुनावमा धाँधली भएको आरोप लगाएका ट्रम्पले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने पनि बताए ।
डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।
उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् ।
कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।
प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।
चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि जो बाइडेनसँग उनको अग्रता कम भएको छ ।
हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् । अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् र त्यहाँ धेरै मत गणना हुन बाँकी छ ।
बाँकी रहेका मत हुलाकबाट आएका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।
एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् । तर त्यहाँ ट्रम्पले कडा टक्कर दिएका छन् । सम्बोधनको क्रममा ट्रम्पले ती राज्यमा मतगणना जारी रहनु पर्ने बताए । तर आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए ।
डमोक्र्याटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् ।
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेनले जित्ने सम्भावना बढी छ । किनभने उनीसँग अहिले नै २६८ भोट छ भने ट्रम्प २१४ मै सीमित भएका छन् ।
न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।
अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।
नेभाडा र एरिजोनामा क्रमशः ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।
यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।