एजेन्सी ।
इङ्लिस् क्लब आर्सनल युरोपा लिग फुटबलमा अपराजजित प्रदर्शन कायम गर्न सफल भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा आर्सनलले पुनरागमन जित निकालेको हो । इमिरेट्स स्टेडियममा २२औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए ।
तर, ४५औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी पुग्यो । खेलको ६२औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २-१ को अग्रता बनायो ।
७०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । ८८औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए ।
जितसँगै आर्सनलले लगातार तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको आर्सनल लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।