भीम रावलको आक्रोशः राष्ट्रपतिले एकपक्षलाई साथ दिनु मर्यादाहीन काम – Janadesh Daily | ePaper

भीम रावलको आक्रोशः राष्ट्रपतिले एकपक्षलाई साथ दिनु मर्यादाहीन काम


जनादेश सोसल मिडिया ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको अनावश्यक चासोको आलोचना गरेका छन् ।

नेकपाको आन्तरिक राजनीतिमा एक पक्षलाई साथ दिँदै सक्रिय हुनु राष्ट्रपति पदको मर्यादा उल्ङ्घन र स्थापित प्रणालीको अवज्ञा भएको नेता रावलको ठहर छ ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’

नेकपा भित्र दुई अध्यक्षबीच विवाद बढेको र प्रधानमन्त्री केपी ओली अफ्ठेरोमा पर्न थालेपछि राष्ट्रपति निवाश शितलनिवास फेरि सक्रिय भएको छ ।

सेरेमोनियल राष्ट्रपति भएपनि पार्टीको विषयमा राष्ट्रपति विद्या भण्डारीले अतिरिक्त चासो देखाएकी छिन् । उनले गत मंगलबार पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर पार्टी एकता जोगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी थिइन् । राष्ट्रपतिले गौतमलाई विगतमा खेलेकै जस्तै भूमिका फेरि खेल्ने समय आएको बताएको गौतमका सहयोगी विश्वमणि सुवेदीले मिडियामा पुष्टि गरेका थिए ।

गत वैशाखमा भएको नेकपा विवादमा ओली संकटमा परेपछि राष्ट्रपतिकै आग्रहमा गौतमले नै‌ समन्वय गरेर ओलीलाई सहज पारेका थिए । पार्टी एकता जोगाउन पुनः त्यस्तै भूमिका खेल्न गौतमलाई यस पटक पनि राष्ट्रपति भण्डारीले आग्रह गरेकी हुन् ।

यसअघि ८ वैशाखमा ओली सरकारले पार्टी फुटाउन सहज हुने गरी कानुनी व्यवस्था गरेर राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशलाई राष्ट्रपति कार्यालयले केही मिनेटमै प्रमाणीकरण गरिदिएको थियो ।

संस्थाको मर्यादाविपरित प्रधानमन्त्री ‌ओलीप्रति अतिरिक्त अनुराग देखाएपछि राष्ट्रपतिको भूमिकाबारे पार्टी भित्र र बाहिर पनि विभिन्न समयमा प्रश्न उठ्ने गरेको छ ।

यो पनि हेर्नुस्- ओलीसँग कड्किए प्रचण्डः ‘बैठक किन नबोलाउने ?’ प्रचण्ड-नेपाल ‘प्लान बी’ खोज्दै

अमेरिकी चुनावमा चीन के चाहन्छ ? चिनियाँ सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्