केशरको व्यावसायिक उत्पादन शुरु – Janadesh Daily | ePaper

केशरको व्यावसायिक उत्पादन शुरु


मङ्गलबारे ।


इलामका केशरको व्यावसायिक उत्पादन शुरु भएको छ । महँगो फूलका रुपमा परिचित केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको हो । औषधीय गुण भएको केशर विश्वकै महँगो फूलका रुपमा परिचित छ ।

प्रतिकिलो रु १० लाखसम्म पर्ने केशरको विगत वर्ष यही ठाउँमा परीक्षण उत्पादन भएको थियो । बहुवर्षे वनस्पतिका रुपमा चिनिएको केशरको यस वर्षको उत्पादन शुरु भएको छ । सामूहिक खेती गरी यसको व्यावसायिक उत्पादन थालिएको हो ।

औषधीय गुण भएको केशरबाट सुगन्धित तेलसमेत बनाउन सकिने बताइएको छ । विगत वर्ष उत्पादन भएको केशर स्थानीयस्तरमा नै बिक्री भइसकेको केशर उत्पादक किसान टुण्डु शेर्पाले बताउनुभयो । उच्च मूल्यको जडीबुटी केशरको परीक्षण उत्पादनपश्चात् दोस्रो वर्ष इलाममा यसको टिपाइ शुरु भइसकेको छ । यतिबेला किसान केशर टिप्न व्यस्त छन् ।

जौवारी मल्टीप्रपोज एग्रिकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले माईजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रुपमा केशरको खेती शुरु गरी विस्तार गरेको थियो । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताउनुभयो । उहाँले खेती हुने जिल्लाका अन्य स्थानमा समेत यसको खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

दुर्लभ वनस्पतिका रुपमा परिचित केशर अहिले नेपालको इलाममा मात्र व्यावसायिक खेती हुने गरेको पाइएको छ । उच्च मूल्यको जडीबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । लगातारको वर्षापछि गत सालभन्दा केही कम केशर फुलेको भए पनि माईजोगमाईको थुम्केडाँडामा केशर फुलेको हेर्न सर्वसाधारणदेखि मन्त्रीसम्मको बाक्लो उपस्थिति हुने गरेको छ । विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरु ढुक्क छन् ।

थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने प्रदेशसभा सांसद खिनु लङ्वाले बताउनुभयो । उहाँले यसको सम्भावना र फाइदाका विषयमा अझ जनचेतना जगाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का सङ्कलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करीब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ । गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टीप्रपोज एग्रिकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको संस्थाका प्रवद्र्धक वीरबहादुर कट्वालले बताउनुभयो । उहाँले अझ खेती विस्तार गर्ने बताउँदै यस क्षेत्रलाई केशर हेर्नकै लागि पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताउनुभयो ।

औषधीय गुण भएको केशर मसलाका रुपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेय पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या रहेको छैन । केशरको व्यावसायिक विस्तारका लागि तालीम र अनुसन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ । विशेष गरेर गर्भवती महिलालाई यसको सेवनले फलदायी हुने बताइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्