एजेन्सी ।
कोरोना भाइरसविरुद्ध चीनले निर्माण गरेको खोपले गम्भीर असर देखाएको भन्दै ब्राजिलमा ट्रायल रोकिएकव छ ।
ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार स्वास्थ्यविद्हरुले ट्रायल रोकेपनि थप जानकारी सार्वजनिक गरिएको छैन ।
चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोप विश्वव्यापी रुपमा विकसित खोपहरुमध्ये अन्तिम चरणको ट्रायल गर्ने खोपमा पर्दथ्यो । उता साइनोभ्याकले चाहिँ आफ्नो खोपको सुरक्षा सम्बन्धी आफूहरु विश्वस्त भएको बताइरहेका छन् । सो कम्पनीले चीनमा आपत्कालीन कार्यक्रम अन्र्तगत हजारौँ मानिसहरुमा प्रयोग गरिसकेको छ ।
ब्राजिल कोरोना महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित हुने देश मध्येमा पर्दछ जहाँ संक्रमित सङ्ख्या ५६ लाख भन्दा बढी छ भने हालसम्म १ लाख ६३ हजारको मृत्यु भइसकेको छ । यस्तोमा सोमबार अन्भिसाले आफूहरुले एक गम्भीर घटना पश्चात् ‘कोरोनाभ्याक’ खोपको क्लिनिकल ट्रायल रोक्ने निर्णय गरेको बताएको छ तर यसबारे विस्तृतमा जानकारी दिएको छैन ।
यही खोपको अन्तिम ट्रायल इन्डोनेशिया र टर्कीमा पनि जारी छ तर ती देशहरु कुनैले पनि यस किसिमको शंकास्पद घटनाबारे खबर गरेका छैनन् । इन्डोनेशियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको र राम्ररी सञ्चालन भइरहेको रोयटर्सलाई जानकारी दिएको हो ।
खोपको क्लिनिकल ट्रायल केही समयका लागि रोकिनुलाई स्वभाविक मानिन्छ र यसअघि सेप्टेम्बरमा बेलायतले पनि एक सहभागीमा नराम्रो असर देखा परेपछि केही समयकालागि खोपको परीक्षण स्थगित गरेको थियो । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटी मिलेर बनाइरहेको सो खोपको ट्रायल केही दिनमा स्वास्थ्य निरीक्षकहरुले सुरक्षित घोषणा गरेपछि मात्र पुनः सुचारु गरिएको थियो ।
साइनोभ्याकले यसअघिको बयानमा आफूले निर्माण गरेको खोप कम्पनीका करिब सबै कर्मचारी र तिनका परिवारमा प्रयोग गरिसकेको बताएको छ ।