नेकपाः ओली भिड्ने मुडमा, प्रचण्ड-नेपाल पार्टी कमिटीबाटै वारपारको तयारीमा – Janadesh Daily | ePaper

नेकपाः ओली भिड्ने मुडमा, प्रचण्ड-नेपाल पार्टी कमिटीबाटै वारपारको तयारीमा


जनादेश वाच ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद अर्को उत्कर्षमा छ । यस अघिका विवाद नाटकीयरुपमा साम्य हुँदै आएको भएपनि यस पटक भने सहज समाधान नरहेको संकेत देखिएका छन् ।


प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली मनोमानी कायमै राख्ने र आवश्यक परे भिड्ने मुडमा देखिएपछि नेकपाको विवाद यस पटक वारपारको अवस्थामा पुग्ने संकेत देखिएको छ ।

पाँच दिनअघि नेकपाका कार्यकारी अध्यक्षसहित पाँचजना नेताहरूले सचिवालय बैठक राख्न सहमतिको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए । ४८ घण्टाको समयसीमा दिइएको थियो । स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओलीले बैठक बोलाएनन् । बरु, विधानअनुसार बैठकको तयारी गर्नू भन्दै महासचिव विष्णु पौडेललाई निर्देशन दिए ।

पार्टी विधानको धारा ५९ आकर्षित गर्दै प्रधानमन्त्रीले बैठक १५ दिन धकेल्न खोजे पनि बहुमत सचिवालय सदस्यले मङ्गलबार धैर्य गरेका थिए ।

तर, मङ्गलबार पनि बैठक बसाउन ओली सहमत नभएपछि नेकपाभित्रको विवाद नयाँ उत्कर्षमा पुगेको छ । मङ्गलबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठकले कात्तिक २७ गते सचिवालय बैठकको मिति तय गरेको छ । तर ओलीले यसलाई मानिसकेका छैनन् ।

प्रचण्ड-नेपाल पक्षको निष्कर्षः कार्यविभाजन सहमतिको औचित्य समाप्त
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दुई अध्यक्षबीच यसअघि भएको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको छ । प्रचण्ड–नेपाल समूह अब सबै विषयमा छलफल र निर्णय क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गर्ने तयारीमा जुटेको छ ।

ओलीबाट श्रृंखलाबद्ध धम्की नरोकिएपछि असन्तुष्ट समूह केन्द्रीय सचिवालयको औपचारिक बैठकको मिती लम्बाउने तर चरणवद्धरुपमा पार्टीलाई कमिटी प्रणालीमा ल्याउने रणनीतिमा छ ।

ओलीले धम्की दिएअनुसार पार्टी फुटाउने हुन् कि भन्ने डरका कारण यो समूह त्यसबाट पछि हट्दै आएको छ। तर त्यसलाई आफ्नो कमजोरी नभई पार्टी एकताको रक्षाका लागि चालिएको कदमका रुपमा उसले चिनाएको छ।

प्रचण्डसँगको यसअघिको भेटमा ओलीले आफ्नो सहमतिविपरीत केन्द्रीय सचिवालयको औपचारिक बैठक बोलाएमा पार्टी फुटको घोषणा गर्ने धम्की दिएका थिए।

 

यो पनि हेर्नुस्- ओलीको जुँगाको धाक, बैठक नराखे बहुमत पुष्टि गर्न चुनौति दिने इतर पक्षको तयारी

 ओलीलाई कारवाही हुनेबारे गोकुल बाँस्कोटाको ट्वीट, भन्छन्- पत्यार लागेन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्