एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले चुनावी नतिजा अस्वीकार गर्नु निक्कै लाजको विषय भएको बताएका छन् ।
ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरिरहेका छन् भने उनको प्रशासनका विदेशमन्त्री माइक पोम्पेओले आफूहरु दोश्रो कार्यकालका लागि तयार भैरहेको बताएका छन् ।
विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् ।
मंगलबार पत्रकारले पराजय स्वीकार गर्न ट्रम्पले गरेको अस्वीकार बारे प्रश्न गरेका थिए । त्यसको जवाफमा बाइडेनले भने, ‘मलाई लाग्छ यो निक्कै लाजको विषय हो’ ।
डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’ उनले जनवरी २० को शपथको दिनलाई लक्षित गरि अन्ततः राम्रो दिन आउने उल्लेख गरे ।
सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले विश्वका विभिन्न देशका नेताहरुसँग टेलिफोन संवाद गरिरहेका छन् । उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, आइरिस प्रधानमन्त्री माइकल मार्टिन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ तथा जर्मन चान्सलर एंगेला मार्केलसहितसँग कुराकानी गरेका छन् ।
यो पनि हेर्नुस्- चुनावमा पराजित ट्रम्पका विदेशमन्त्री भन्छन्- दोश्रो कार्यकालका लागि तयारीमा छौं