खार्पुनाथमा पठनपाठन शुरु – Janadesh Daily | ePaper

खार्पुनाथमा पठनपाठन शुरु


सिमकोट ।


हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् ।

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

जिल्लाका अन्य छ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन शुरु गरिएको हो । एघार महिनादेखि विद्यालय जान नपाएका विद्यार्थी खुसी भए पनि नपढेर नै वार्षिक परीक्षा हुने भएपछि चिन्तित भएका छन् ।

जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन् । चिसोका कारण मीनपचासका लागि बिदा हुने भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर तीन महिना विद्यालय बन्द गरी फागुनमा नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी भइरहेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्