नेकपा विवाद निर्णायक मोडमा, प्रचण्डले भने- अब पनि झुक्यो भने ढाड भाँचिन्छ – Janadesh Daily | ePaper

नेकपा विवाद निर्णायक मोडमा, प्रचण्डले भने- अब पनि झुक्यो भने ढाड भाँचिन्छ


जनादेश वाच ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद निर्णायक मोडमा पुगेको छ । बैठक राखे कडा कदम चाल्ने चेतावनी दिँदै आएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नमानेपनि इतर पक्षले बैठक राख्ने तयारी गरेपछि नेकपाको झगडा वार कि पारको विन्दुमा पुगेको विश्लेषण गरिएको छ ।


कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएपनि बिहीबार सचिवालयको औपचारिक बैठक राख्ने तयारी गरेका हुन् । शुक्रबार, शनिबार र मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बहुमत सदस्य लिएर अनौपचारिक बैठक राखेका प्रचण्डले ओलीलाई बैठक राख्न दिएको समय आज सकिँदैछ ।

प्रचण्ड-नेपाल समूहको निष्कर्ष ओलीसँग यसपटक आमने सामने हुनैपर्छ

प्रचण्डले बुधबार साँझ आफूनिकट युवा र विद्यार्थी भ्रातृ संस्थाका शीर्षस्थ नेताहरूलाई खुमलटार निवास डाकेर अब ओलीसँग सम्झौता गर्न नसकिने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘पार्टी नफुटोस् भन्ने हाम्रो चाहना छ । हामी पार्टी फुटाउँदैनौँ पनि । तर पार्टी फुट्ने स्थिति आयो भने हामी पूर्ववत् माओवादी भएर अब बस्दैनौँ ।’

पटक पटक सम्झौता गर्दा पनि ओली उत्ताउलो बन्न नछोडेको भन्दै प्रचण्डले यो भन्दा निहुरिन खोजे आफ्नो र आन्दोलनको ढाडै भाँचिने तर्क गरे । कुनै पनि सहमति ओलीबाट पालना नभएका कारण उनीसँग थप सहमतिको सम्भावना नरहेको प्रचण्डले स्पष्ट पारेका छन् ।

ओलीले पार्टी फुटाउन चाहे पहिलेझैँ एमालेका रूपमा उदाउन नसक्ने ठोकुवा गरेका उनले पूर्वएमाले पक्षको ओलीइतर कित्ता अब कुनै पनि हालतमा ओलीसँग मिल्न नसक्ने बताए ।

बुधबार नै वरिष्ठ नेता माधव नेपालले आफुनिकटका आधा दर्जन स्थायी समिति सदस्यसँग गोप्य छलफल गरेका थिए । प्रचण्डसँग छलफल गरेर फर्केपछि ललितपुरमा नेता नेपाल आफुनिकटका नेताहरुसँग झन्डै ३ घण्टा बसेका हुन् ।

नेपालले आफुनिकटका स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोर्कण विष्ट, अष्टलक्ष्मी शाक्य र भीम आचार्यसँग दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल गरेका थिए ।

अब आफूहरु नभएर ओली एक कदम पछि हट्नु पर्ने नभए निर्णय गरेर अघि बढ्ने दृढता प्रचण्ड-नेपाल समूह दृढ देखिन्छ ।

तर वामदेव गौतम भने मन्त्री बन्ने बाटो खुलेकाले फेरि ओलीतर्फ ढल्किने चिन्ता उनीहरुलाई छ । ओलीसँग अन्तिममा खेल्न मिल्ने वामदेव कार्ड अझै पनि बाँकी रहेकाले शंशय रहेको एक नेताले जनादेशलाई बताए ।

यो पनि हेर्नुस्- नेकपाः ओली भिड्ने मुडमा, प्रचण्ड-नेपाल पार्टी कमिटीबाटै वारपारको तयारीमा

ओलीलाई कारवाही हुनेबारे गोकुल बाँस्कोटाको ट्वीट, भन्छन्- पत्यार लागेन

ओलीले प्रचण्डसँग पहिला सहमति गरेपछि मात्र बैठक बस्नुपर्ने अडान लिँदै आएका छन् । यही विषयमा कुरा नमिल्दा नेकपाभित्र दुई अध्यक्षबीच शक्ति संघर्ष चुलिएको छ । र यस पटक सहमतिमा टुङ्गिने सम्भावना कम रहेको नेताहरुको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्