एजेन्सी ।
म्यानमारमा सम्पन्न निर्वाचनमा आएको नतिजाप्रति सेनाले असहमति जनाएको छ । सेना समर्थित राजनीतिक दलदल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीलेले चुनावी नतिजा नमान्ने बताएको हो ।
मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेपछि निर्वाचनमा धाँधली भएको आरोप विपक्षी दलको छ । सेना समर्थित पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउन समेत माग गरेको छ ।
नोवेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच बर्षे कार्यकालका लागि जित हासिल गरेको थियो । सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गरेकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।
असन्तुष्ट विपक्षी दलका कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडि प्रदर्शन पनि गर्दै निर्वाचनको बैधता, निश्पक्षता, विश्वसनीयता र तटस्थतामा समेत प्रश्न उठाएका छन् ।
म्यानमारको संसद ३२२ सिट ल्याएमा बहुमत हुने भएपनि सूकीको पार्टीले ३६१ सिटमा जित हासिल गरेको छ । सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ भने अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन् ।
सन् २०१५ को निर्वाचनमा सूचीको पार्टी ३९० स्थानमा विजयी भएको थियो भने सेना समर्थित पार्टीले ४१ सिटमा विजय प्राप्त गरेको थियो । म्यानमारमा साठी वर्षभन्दा बढी समय शासन गरेको सेनाको समर्थन प्राप्त दल यूएसडीपीले पुनः निर्वाचनको माग गरेपछि त्रास उत्पन्न भएको छ ।
निर्वाचन आयोगले भने प्रमुख प्रतिपक्षी दलले लगाएको आरोपको खण्डन गर्दै फेरि निर्वाचनको सम्भावना नरहेको स्पष्ट पारेको छ ।