नेकपा सचिवालयः ओलीको राजीनामा मागिन सक्ने, यस्तो छ दुई पक्षको रणनीति – Janadesh Daily | ePaper

नेकपा सचिवालयः ओलीको राजीनामा मागिन सक्ने, यस्तो छ दुई पक्षको रणनीति


जनादेश वाच ।

दुई अध्यक्षबीचको लामो रस्साकस्सीपछि नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच द्वन्द उत्कर्षमा पुगेको समयमा बस्न लागेको सचिवालय बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

ओलीइतरका नेताहरूको १५ दिन लामो दबाबपछि बैठक बस्न तयार भएका ओलीले बैठकमा एजेण्डामा पूर्वसहमति खोजेपनि प्रचण्डले अस्वीकार गरेका थिए । बैठकले नै एजेण्डा तय गर्ने भएकोले पनि सचिवालय बैठकमा द्वन्द उत्कर्षमा पुग्ने अनुमान गरिएको छ ।

ओलीइतरका नेताहरू बिहीबार दिनभर खुमलटारमा शुक्रबारको सचिवालय बैठकका लागि रणनीति तय गर्न व्यस्त थिए । स्पष्ट नभएपनि ओलीको राजीनामादेखि स्थायी समितिको बैठकसम्म माग गर्ने तयारीमा प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष रहेको अनुमान गरिएको छ ।

सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।

बामदेवको पासा
अदालतले मन्त्री बन्ने बाटो खुलेपछि ढुलमुल गर्ने ठानिएका उपाध्यक्ष गौतम खुमलटार छलफलमा केही ढिलो पुगेका थिए । उनको समर्थनले सचिवालयमा निर्णायक भूमिका खेल्ने भएकाले दुवै पक्ष उनलाई आफूसँग राख्ने रणनीतिमा छन् ।

ओलीले बामदेवलाई प्रयोग गरेर बहुमत पुर्‍याउन सकिने महसुस गरेर सचिवालय बैठक बोलाउन राजी भएको अनुमान समेत कतिपयले गरेका छन् । विगतमा पनि अन्तिम अवस्थामा गौतमलाई आफ्नो कित्ता ल्याउन सफल ओली संकटबाट पार पाउँदै आएका छन् ।

सचिवालयका ५ नेताको चर्को दबाब समक्ष करिब एक महिनादेखि नझुकेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले बामदेव गौतम सम्बन्धी मामिलामा लगाएको ‘अन्तरिम रोक’ खारेज गरेको भोलीपल्ट बिहीबार नै नेकपा केन्द्रीय सचिवालय बैठक बोलाउन सहमत भएपछि यस्तो अनुमान हुने नै भयो ।

सांसद र मन्त्री पदमा कायमै हुने बाटो खुल्ला गरेकै दिन बुधबार राती प्रधानमन्त्री ओलीले गौतमलाई फोनमार्फत बधाई दिनुका साथै आफ्नो सरकारमा सामेल हुने प्रस्तावसमेत गरिसकेका छन्।

गौतमले ओलीको प्रस्ताव तत्कालै अस्वीकार गरेको भएपनि उनलाई मनाउन ओलीले बिहीबार पनि प्रयास जारी राखेका छन्।

यद्यपि खुमलटारमा सचिवालय सदस्यका नेताहरूको छलफलमा गौतमको सहभागिताले अहिलेसम्म ओलीइतरको खेमामा उनी कायम रहेको देखाउँछ । छलफलमा यो पटक धोका नदिने वचन बामदेवले दिएको सचिवालयका नेताको दाबी छ । जस्तोसुकै प्रस्ताव प्रधानमन्त्री ओलीबाट आएपनि आफू सरकारमा नजाने भन्दै आफूप्रति विश्वास गर्न ओलीविरुद्धको समिकरणका सदस्यहरुलाई आग्रह गरेका छन्।

बुधबारको आदेश पनि अस्थायी भएको र अन्तिम फैसलामा सर्वोच्चले गौतमको मन्त्रिपरिषदमा उपस्थिति संविधानबिपरीत ठहर गरेमा गौतमको राजनीति र विश्वसनीयता अझै धरापमा पर्ने चेतावनी पनि उनी निकटस्थहरुले दिएका छन्।

कोरोना महामारी, पार्टी स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनको समिक्षा गर्न भन्दै ओलीलाई औपचारिक बैठक बोलाउन सहमत गराउने र त्यसपछि ओलीलाई प्रधामन्त्री र पार्टी अध्यक्ष दुबैबाट हटाउने रणनीतिमा प्रचण्ड-नेपाल समिकरण जुटेको छ।

बुधबार किमाथाङ्काबाट ओलीले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट नहट्ने सार्वजनिक घोषणा गरेका थिए ।

प्रचण्डले बुधबार साँझ आफूनिकट युवा र विद्यार्थी भ्रातृ संस्थाका शीर्षस्थ नेताहरूलाई खुमलटार निवास डाकेर अब ओलीसँग सम्झौता गर्न नसकिने स्पष्ट पारेका छन् ।

पटक पटक सम्झौता गर्दा पनि ओली उत्ताउलो बन्न नछोडेको भन्दै प्रचण्डले यो भन्दा निहुरिन खोजे आफ्नो र आन्दोलनको ढाडै भाँचिने तर्क गरेका थिए । कुनै पनि सहमति ओलीबाट पालना नभएका कारण उनीसँग थप सहमतिको सम्भावना नरहेको प्रचण्डले स्पष्ट पारेका छन् ।

यो पनि हेर्नुस्- नेकपाः ओली भिड्ने मुडमा, प्रचण्ड-नेपाल पार्टी कमिटीबाटै वारपारको तयारीमा

ओलीलाई कारवाही हुनेबारे गोकुल बाँस्कोटाको ट्वीट, भन्छन्- पत्यार लागेन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्