तिहारः आज गाई र गोरू पूजा, म्ह पूजा पनि आजै, प्रधानन्त्रीले गरे एकताको आह्वान – Janadesh Daily | ePaper

तिहारः आज गाई र गोरू पूजा, म्ह पूजा पनि आजै, प्रधानन्त्रीले गरे एकताको आह्वान


जनादेश, काठमाडौं ।

तिहारको चौथो दिन आज गाई, गोरु पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

तिहारको चौथो दिन आजै गोवर्द्धन पूजा पनि गरिँदैछ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

 

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ ।

यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ ।

म्ह पूजा पनि आजै

आत्म (म्ह) पूजा पनि आजै मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएकाले आजै म्ह पूजा परेको हो ।

आइतबार बिहान ११:२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् ।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन्।

नेपाल सम्वत् ११४१ का अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए।

सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन्।

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गरेका छन्।

“एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौं,” उनले सन्देशमा भनेका छन, “हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ।”

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।

नेपाल सम्वत्को यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गरका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्