प्रचण्डको पत्र प्रत्याक्रमणपछि बालुवाटार रक्षात्मक, पद जोगाउन ओलीका अनेक अस्त्र – Janadesh Daily | ePaper

प्रचण्डको पत्र प्रत्याक्रमणपछि बालुवाटार रक्षात्मक, पद जोगाउन ओलीका अनेक अस्त्र


जनादेश वाच ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मका सबै असन्तुष्टि पत्रमार्फत सार्वजनिक गरेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध धावा बोलेपछि ओली पक्ष रक्षात्मक भएको छ ।

फकाउने र थर्काउने रणनीतिले काम नगरेपछि ओली पक्ष प्रस्ताव फिर्ता गर्न लगाउने रणनीतिमा छ । ओली २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गराउने रणनीतिमा लागेका हुन् ।

अध्यक्ष प्रचण्डले प्रतिवेदन फिर्ता नलिए ३ मंसिरमा तय सचिवालय बैठक नराख्ने बारे पनि ओली समूहमा छलफल चलेको छ । ओली समूहका नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाललगायतका नेताहरु आज दिउँसो बालुवाटारमा संवादमा जुटेका थिए । आफ्नो समूहसँगको विमर्श सकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आगामी कदमबारे छलफल गरेको ओलीनिकट स्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीसँगको करिब आधा घण्टाको भेटमा ओलीले संसद विघटनको सम्भावनादेखि राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याउने बारेमा छलफल भएको स्रोतले दाबी गरेको छ ।

अहिले ओलीले अध्यादेशको त्रासबाट पार्टी विभाजनको डर देखाउने र प्रचण्ड-नेपाल समूहलाई ब्याक गराउने रणनीति पनि ओलीले लिएका छन् ।

त्योसँगै मध्यावधि निर्वाचन वा संसद विघटनको त्रासको कार्ड प्रयोग गरेर प्रचण्डलाई दबाबमा राख्न चाहेका छन् ।

गत वैशाखमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश विवादमा परेपछि प्रधानमन्त्री ओलीले फिर्ता गरेका थिए ।

आफ्नो पक्षमा ४० प्रतिशत सांसद नपुग्ने भए त्यो भन्दा कम ३० प्रतिशत संख्या भएपनि पुग्ने अध्यादेश ल्याउने बारेमा पनि ओलीले आफूनिकटसँग छलफल गरिरहेका छन् ।

दुवै पक्ष मंसिर ३ मा केन्द्रित
मंसिर तीनका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक अघि नै ओली र प्रचण्ड आआफ्नो जित देखाउने रणनीतिमा छन् । बालुवाटार र खुमलटारमा युद्धको रणनीति निर्माण भैरहेका छन् । प्रचण्डले सचिवालय सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमसँग ओलीलाई कसरी परास्त गर्ने र उनले चाल्ने कुनै पनि कदमलाई कसरी विफल बनाउने भन्नेबारे छलफल गरिरहेका छन् । शुक्रबार सचिवालय बैठक सकिनासाथ प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रचण्डबीच खुमलटारमा लामो छलफल भएको छ। बैठकअघि भूमिगतकालमा दरिलो सहकार्य गरेका तर ओली नेतृत्वको मन्त्रिपरिषदमा पुगेपछि प्रचण्डको साथ छोडेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रचण्डबीच डेढ घण्टा लामो छलफल भएको थियो। बादलले प्रचण्डलाई अहिले आफू मन्त्री रहेकाले मौन रहेको तर निर्णायक अवस्थामा तपाईँलाई नै साथ दिन्छु भन्ने आवश्वास दिएका छन्।

 

आगामी मंसिरमा पूर्वनिर्धारित सचिवालय बैठक भएमा त्यसबाट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर ओलीलाई दुवै पदबाट हटाउने रणनीति प्रचण्डको छ।

तर ओली पक्षले अर्का प्रचण्डले प्रस्ताव फिर्ता नलिए आगामी मंसिर तीन गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय गरिसकेको बताइएको छ ।

सबै पार्टी कमिटीमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहुमत पुग्ने र प्रचण्डको प्रस्ताव पारित भएमा नैतिकरुपले पनि ओली यथास्थितिमा बस्न नमिल्ने हुँदा प्रस्ताव फिर्ता नलिइएमा मंसिर तीन गते निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय ओली पक्षले शुक्रबार रातीनै गरेको एक नेताले जनादेशलाई जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्