निराशाबीच आशाको दियोः कोरोनाको अर्को खोपलाई झण्डै ९५ प्रतिशत सफलता – Janadesh Daily | ePaper

निराशाबीच आशाको दियोः कोरोनाको अर्को खोपलाई झण्डै ९५ प्रतिशत सफलता


एजेन्सी ।

एउटा अमेरिकी र जर्मनी कम्पनीले विकास गरेको कोरोना खोप ९२ प्रतिशत सफल भएको समाचार आएको १५ दिन पनि नवित्दै अर्को अमेरिकी कम्पनीले आफ्नो खोप झण्डै ९५ प्रतिशत सफल रहेको दाबी गरेको छ ।

मोडेर्ना नामक कम्पनीले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको हो ।

सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ ।

फाइजर कम्पनीले बनाएको खोप ९० प्रतिशत सुरक्षित र प्रभावकारी रहेको घोषणा गरेको एक सातापछि नै मोडेर्नाको यो घोषणा आएको हो । यसको अर्थ कोरोना भाइरसको महामारीमा दुई वटा खोप क्लिनिकल परीक्षण निकै सुरक्षित र प्रभावकारी देखिएका छन् ।

मोडेर्नाले ३० हजारभन्दा बढीमा लगाएको खोपको तथ्यांकको विश्लेषणपछि यो घोषणा गरेको हो । त्यसमध्ये आधाले २८ दिनको बिचमा दुई खोप लगाएका थिए ।

मोडेर्ना कम्पनीका प्रमुख कार्यकारी स्टेफन बाँचेलले कोरोना विरुद्धको खोपमा यो उत्साहजनक नतिजा भएको बताएका छन् । उनले आगामी जनवरीभन्दा अघि नै कोरोनाविरुद्धको सुरक्षित खोप दिनसक्ने आशा पलाएको समेत बताएका छन् ।

मोडेर्नाले सन् २०२० मा अमेरिकालाई २० करोड खोप उपलब्ध गराउन सक्ने र सन् २०२१ सम्मा ५० करोडदेखि १ अर्ब खोप उत्पादन गर्न सक्ने जनाएको छ ।

फाइजर कम्पनीले पनि सोही परिमाणमा खोप निर्माण गर्न सकिने गत साता घोषणा गरेका थियो । मोडेर्नाले कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि अमेरिकी सरकारबाट ९ अर्ब ५० करोड डलर प्राप्त गरेको थियो ।
तेस्रो चरण अर्थात बिस्तारित तहको मानवीय परीक्षणमा कोरोना भाइरस विरुद्ध सम्भावित खोपहरु सुरक्षितसँगै प्रभावकारी सावित भएपछि विश्वभर आश पलाएको छ।

मोडेर्नाको खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएसँगै विश्वलाई ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारी प्रभावकारी विकल्पको आश पलाएको हो।

फाइजर र मोडेर्ना दुवैले खोप विकासका लागि विल्कुल नयाँ र प्रयोगात्मक विधि अपनाएका हुन्। मोडेर्नाले खोप प्रभावकारी देखिनु अति उत्कृष्ट रहेको बताउँदै प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया आउँदो केही हप्ता मै थाल्ने उल्लेख गरेको छ।

तेस्रो चरणको मानवीय परीक्षणको प्रारम्भिक नतिजा मात्रै भएकाले अझै थप स्पष्ट हुन भने बाँकी रहेको छ। अमेरिकामा परिक्षणमा सहभागी भएका ३० हजार मानिसमध्ये आधालाई खोपका दुई डोज चार हप्ताको फरकमा दिइएको थियो । बाँकी आधालाई डमी खोप दिइएको थियो।

९५ जनाको नतिजाको विश्लेषण गरिएको हो । कोरोना भाइरसको संक्रमण देखिएका मध्ये मात्रै पाँचजना खोप दिइएका रहेको र अरु ९० जना डमी खोप दिइएका मानिस रहेको मोडेर्नाले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्