चिसो बढ्यो, उच्च पहाडी क्षेत्रमा हिमपात, यस्तो छ मौसमी भविष्यवाणी – Janadesh Daily | ePaper

चिसो बढ्यो, उच्च पहाडी क्षेत्रमा हिमपात, यस्तो छ मौसमी भविष्यवाणी


जनादेश, काठमाडौं ।

मौसममा बदली भएसँग काठमाडौं उपत्यकासहित देशभरी चिसो बढेको छ । सोमबार बिहानैदेखि मौसममा आएको बदलीका कारण देशभर चिसो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा सोमबार न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । उपत्यकासहित वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानलगायत गण्डकी, वाग्मती र प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका रहेको विभागले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपात सुरु
हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सोमबार नै हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ सपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

उता डोल्पामा पनि हिमपात भएको छ। आइतबार रातिदेखि नै सुरु भएको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।

माथिल्लो डोल्पास्थित शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको स्थानीयवासीले जानकारी दिए ।

बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ। त्यस्तै बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ जमेको छ।

हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ। यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ। यसअघि कात्तिक १८ गते हिमपात भएको थियो।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए। बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्