एक दिनमा थपिए ५ लाख कोरोना संक्रमित, डब्ल्युएचओ भन्छ- खोप मात्र महामारी अन्त्य हुँदैन – Janadesh Daily | ePaper

एक दिनमा थपिए ५ लाख कोरोना संक्रमित, डब्ल्युएचओ भन्छ- खोप मात्र महामारी अन्त्य हुँदैन


एजेन्सी ।
विश्वमा गत २४ घण्टामा ४ लाख ९१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्म विश्वभर ५ करोड ५३ लाख हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये १३ लाख ३१ हजार ६४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ३ करोड ८४ लाख ६३ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् ।

युरोपमा दोश्रो लहर

संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् ।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

अमेरिकामा भयावह

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकामा असर देखिएको छ । त्यहाँ १ करोड १५ लाखभन्दा बढीमा संक्रमण भइसकेको छ । अमेरिकामा मात्रै २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण भएको छ । भारत विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा छ । यस्तै धेरै संक्रमित भएको मुलुकको सूचीमा ब्राजिल, फ्रान्स, रसिया, स्पेन क्रमश तेस्रो, चौथो, पाँचौँ र छैठौँ स्थानमा छन् ।

विश्व स्वास्थ्य संगठन भन्छ- खोपले मात्र महामारी नियन्त्रण हुँदैन

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए ।

यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्