सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहारपछिका तरंग, कसले के भने – Janadesh Daily | ePaper

सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहारपछिका तरंग, कसले के भने


जनादेश वाच ।

स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि शनिबार गृहजिल्ला चितवनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली समर्थकले दुर्व्यवहार गरेपछि सत्तारुढ नेकपामा शीर्ष तहको तिक्तता अव जिल्ला र स्थानीय तहमै देखिने निश्चित देखिएको छ ।

पाण्डेमाथि भएको दुर्व्यवहारको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚ वरिष्ठ नेता माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले दोषीमाथि कारवाहीको माग गरेका छन् । ओली पक्षकै गोकुल बाँस्कोटाले पनि विचारलाई विचारले परास्त गर्नुपर्ने धारणा छन् ।

ओली पक्षका नेताहरुले प्रचण्ड-नेपाल पक्षका नेताहरुलाई कार्यक्रममा अवरोध गर्नुका साथै जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम बढाएका छन् ।

शनिबार चितवनमा पनि पाण्डेले मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसं ग निकाल्ने वित्तिकै ओली गुटका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार र नाराबाजी गरे ।

चितवनमात्र होइन शनिबार सुर्खेतमा पनि ओली पक्षले मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यानरमा भेला गरेर पार्टी फुटको पूर्भावाष गराएको छ ।

पर्सामा कार्यकर्ता हत्या प्रकरण होस् वा जबजलाई ब्युँत्याउने ओलीको निर्देशन प्रकरण नै किन नहोस् जसले पार्टी विभाजनको संकेत गर्छ ।

२६ भदौको स्थायी समितिको बैठकले मदन भण्डारी फाउन्डेसन र पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा राजनीतिक गतिविधि नगर्न निर्देशन दिएको थियो । २९ भदौमा अध्यक्षद्वय प्रचण्ड र ओलीले जारी गरेको अन्तरपार्टी निर्देश (अपानि) मा पनि त्यही उल्लेख छ ।

कसले के भने

सुरेन्द्र पाण्डेमाथि भएको व्यवहारले नेकपा सचिवालयले अर्को मुद्धा थपिदिएको छ । वरिष्ठ नेता माधव नेपालले पार्टी नेता पाण्डेलाई बोल्दा बोल्दै सुनियोजित रुपमा अवरोध गरी अभद्र व्यवहार गरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेका छन्। शनिबारै एक विज्ञप्ति जारी गर्दै नेपालले सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्न हिँडेको कम्युनिस्ट पार्टीमा यस्ता हर्कत नसुहाउने बताएका छन्।

त्यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेताहरूमाथि हुने हुलहुज्जतले झन् उत्तेजित बनाउने बताएका छन् । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै नेता खनालले यस्ता हुलहुज्जले विवादलाई उत्तेजित बनाउने भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरेका हुन्।

त्यस्तै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सनायोग्य भएको उल्लेख गरेका छन् ।


‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कं. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ‚’ शनिबार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भने‚ ‘यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’

तर ओली गुटकै पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने हुलहुज्जत नगर्न आग्रह गर्दै खराब बिचारलाई विचारले परास्त गर्न सकिने बताएका छन् । बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पाण्डेमाथि भएको दुर्व्यवहारलाई होहल्ला गरिरहनुको कुनै अर्थ नभएको बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्