ओली सत्ता संकटमा परेपछि भारतीय राजदूत सक्रिय, देउवासँग ओलीको लामो भलाकुसारी – Janadesh Daily | ePaper

ओली सत्ता संकटमा परेपछि भारतीय राजदूत सक्रिय, देउवासँग ओलीको लामो भलाकुसारी


जनादेश वाच ।

बोलीमा एकताका कुरा गरेपनि व्यवहारमा पार्टी फुटाएरै अघि बढ्नेमा दृढ देखिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अल्पमतमा पर्नासाथ विकल्पमा जाने सम्पूर्ण तयारी अघि बढाएका छन् ।

सत्ता कायम राख्न ओलीले पार्टिभित्र र बाहिर सबै रणनीतिक चालहरु एकसाथ चलिरहेका छन् । नेकपा फुट्ने स्पष्ट संकेत देखिएको बेला विपक्षी कांग्रेसले पनि सम्भावित सत्ता समिकरणको प्रयास थालिसकेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ले शनिबार दिउँसो ३ बजेदेखि ६ बजेसम्म बालुवाटारमा लामो छलफल र भेटवार्ता भयो ।

भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल रहेको बताइएको छ ।

ओली र देउवाबीचको सेतु भने भारतीय राजदूत विनयमोहन क्वात्रा रहेको बताइन्छ । क्वात्राले शुक्रबार बूढानीलकण्ठमा देउवासँग सम्भावित परिदृष्य र सत्ता समिकरणबारे कुरा गरेका थिए ।

भारतीय राजदूतले देउवा भेटेको भोलिपल्ट बालुवाटारमा भएको दुई पक्षको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

यहीबीचमा दिल्लीसँग सिधा कनेक्सन भएका काँग्रेस सांसद अमरेशकुमार सिंहले पनि दौडधुप बढाएका छन् । शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका उनले अन्य महत्वपूर्ण नेताहरुसँग बुझेर परिस्थितिबारे जानकारी लिएका हुन् ।

चीन भर्सेस भारत- अमेरिका
पछिल्ला दिनमा नेपालको सत्ता राजनीतिमा भारत र अमेरिका सँगै मिसिएको बताइन्छ । अमेरिका र भारत नेकपा विभाजित होस् तर, ओली सरकार निरन्तरता होस् भन्ने चाहन्छन् । ताकि, आफ्नो स्वार्थअनुकूलको परिस्थिति निर्माण हुन सकोस् । नेकपा विभाजन भएसँगै अमेरिकी परियोजना एमसीसी संसद्‌मा सहजै अनुमोदन हुनेछ ।

तर, चीन नेकपा विभाजन नहोस् तर ओली सरकार विस्थापित होस् भन्ने चाहन्छ । राजदूत होउ यान्छीको काठमाडौं दौडधुपलाई त्यसकै अर्थमा बुझिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्