प्रचण्डको स्पष्ट अडानः प्रस्ताव फिर्ता हुँदैन, ओलीको व्यवहारले पार्टीको भविष्य निर्धारण – Janadesh Daily | ePaper

प्रचण्डको स्पष्ट अडानः प्रस्ताव फिर्ता हुँदैन, ओलीको व्यवहारले पार्टीको भविष्य निर्धारण


जनादेश वाच ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सचिवालयमा राखेको प्रस्ताव फिर्ता लिन दबाब दिइरहेको समयमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने स्पष्ट अडान लिएका छन् ।

ओली पक्षले प्रस्ताव फिर्ता गराउने र संयुक्त प्रस्ताव ल्याउने अडान लिइरहेको समयमा प्रचण्डले त्यस्तो सम्भावना नरहेको भन्दै अब ओलीको मनोमानी नचल्ने स्पष्ट सन्देश दिएका हुन् ।

प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको तर कुनै हालतमा प्रस्ताव फिर्ता नहुने सन्देश आफू निकट नेताहरुलाई पनि दिएका छन् ।

सोमबार विहान खुमलटार पुगेका पूर्वमाओवादी केन्द्रका हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरूसँग प्रचण्डले आफूले प्रस्ताव फिर्ता लिन नसक्ने तर ओलीको प्रस्ताव कस्तो आउँछ भन्ने कुराले पार्टीको भविष्य निर्धारण हुने सन्देश दिएको श्रोतले बताएको छ ।

मध्यधारका नेताहरू दुई अध्यक्ष मिलेर जानुपर्ने भन्दै खुमलटार पुगेपनि प्रचण्डको अडानपछि हच्किएका थिए । अब ओलीको मनोमानी सहन नसकिने र विधि र प्रक्रियामा पार्टी चलाउन एक दुई पद वा मन्त्री लोभ नगरिने प्रचण्डले स्पष्ट पारेका छन् ।

प्रचण्डको अडानपछि तनावमा रहेका ओली पक्षीय नेताहरुमा अब कसरी प्रस्तुत हुने भन्नेमा मतभेद छ । आफू सुरक्षित रहनका लागि प्रचण्डले लगाएको भन्दा दोब्बर आरोप लगाउने तयारी ओली पक्षभित्रको ईश्वर पोखरेल र सूर्य थापा ग्रुपले गरिरहेको भएपनि ‘नरम’ भनेर चिनिने समूहका विष्णु पौडेल, सुवास नेम्वाङलगायत नेताहरु भने विवाद अन्त्यका लागि हाललाई प्रचण्डको प्रस्तावको सामान्य जवाफ दिएर दुई अध्यक्षको सहमतिमा साझा प्रस्ताव निर्माण गर्नुपर्ने पक्षमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्