नेकपामा ‘काउन्टर’को प्रतिस्पर्धा, विद्यार्थी भेलादेखि काउन्टर प्रतिवेदनसम्म – Janadesh Daily | ePaper

नेकपामा ‘काउन्टर’को प्रतिस्पर्धा, विद्यार्थी भेलादेखि काउन्टर प्रतिवेदनसम्म


जनादेश वाच ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा दुवै पक्ष एक अर्कोलाई देखाइदिने रणनीतिमा देखिएका छन् पार्टीभित्रको मतभेद चर्किंदै गएको बेला दुवै पक्षले आफ्ना शक्ति प्रदर्शन गर्न थालेका छन् ।

यसैबीच आज प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियुको काठमाडौं उपत्यका भेला हुने भएको छ । ओली समूहले विभिन्न जनवर्गीय संगठन र एनजिओको बैठक र भेला आयोजना गर्ने क्रममा उक्त भेला हुन लागेको बताइन्छ ।

यता जस्तालाई तस्तै भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आगामी शुक्रबार, शनिबार र आइतबार ललितपुरका स्थानीय तहको भेला आयोजना गर्न लागेको बुझिएको छ ।

प्रचण्डको प्रतिवेदन सर्कुलर

नेकपाको २८ कात्तिकको ७०औँ सचिवायल बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यालयबाट प्रकाशित गरेर वितरण गर्न थालिएको छ । प्रचण्ड-माधव नेपाल समूहले उक्त प्रतिवेदन केन्द्रीय कार्यालयमार्फत प्रकाशन गरी वितरण गरेका हुन् ।

प्रचण्डले ७ मंसिरमा प्रतिवेदन छापेर प्रदेश तहमा वितरण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समूह आक्रोशित भएको छ । ओली समूहले प्रतिवेदनलाई आरोपपत्रका रूपमा व्याख्या मात्र गरेको छैन, प्रत्येक बुँदाको जवाफ दिने बताइरहेको छ । र, त्यसैका लागि १३ मंसिरको सचिवालय बैठकमा जवाफी प्रतिवेदन आउँदैछ ।

पोखरेल र रिमाल काउन्टर प्रतिवेदन बनाउँदै
ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदनको बलियो प्रतिवाद गर्नेगरी जवाफी प्रस्ताव तयार गरिरहेको श्रोतले बताएको छ । प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गराउने प्रयास सफल नभएपछि ओली पक्ष छुट्टै प्रतिवेदन तयार गर्न जुटेको हो।

ओलीको प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्न स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, राजनीतिक सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्थायी समिति सदस्य सुवास नेम्वाङसहित प्रधानमन्त्री ओलीका सचिवालयका सदस्यहरु खटिएका छन्।

खासगरी मुख्यमन्त्री पोखरेल र रिमालले ओलीको प्रतिवेदन तयार पारिरहेको उनीनिकट एक नेताले जनादेशलाई जानकारी दिए।

ओलीले ‘काउन्टर’मा गर्ने प्रस्तावले पार्टीको एकता र उनका पदहरुको भविष्य निर्माण गर्ने निश्चित भएको छ। ओली पक्षले भने प्रचण्डलाई ‘ओठे जवाफ’ नभई पार्टीको आगामी रणनीति, सरकार र पार्टीको सम्बन्ध र आगामी चुनौतिलगायत विषयलाई समेटेर बृहत प्रस्ताव तयार पारिरहेको बताएको छ।

प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा पार्टी संकटमा पर्नुको मुख्य कारण ओली व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रहेको निष्कर्ष निकालिएको थियो।

यस्तै ओलीले भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला नचालिएको ओरोप प्रस्तावमा लगाइएको छ।

विवादस्पद प्रकरणहरुमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दोषी भए नभएको निर्क्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरु निर्दोष रहेको घोषणा प्रधामन्त्री ओलीले गरेको प्रस्तावमा भनिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्