भारतीय विदेश सचिव श्रृंगला आज आउँदै, सीमाका विषयमा मौन रहने रणनीति – Janadesh Daily | ePaper

भारतीय विदेश सचिव श्रृंगला आज आउँदै, सीमाका विषयमा मौन रहने रणनीति


जनादेश वाच ।

लामो समयको संवादहीनता तोड्दै बढेका भारतीय उच्च अधिकारीको भ्रमण श्रृंखला अन्तर्गत भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

भारतको विदेशसचिव बनेपछि पहिलो पटक नेपालको भ्रमणमा आउन लागेका उनको भ्रमणले नेपाल भारत औपचारिक संवाद सुरुवाततर्फ उन्मुख गराउने अपेक्षा विश्लेषकहरुले गरेका छन् । यद्यपि लिम्पियाधुरा तथा कालापानी क्षेत्र समेटेर नेपालले नक्शा सार्वजनिक गरेपछि सुरु भएको सीमा विवादबारे भने यो भ्रमणमा कुराकानी नहुने संकेत दुवै पक्षबाट यो विषयमा देखाइएको मौनताले गरेको छ ।

हर्षवर्धन श्रृंगला ६ साताको अन्तरालमा नेपाल आउने भारतका तेस्रो वरिष्ठ अधिकारी हुन् । यसअघि कात्तिकको पहिलो साता भारतको वाह्य गुप्तचार एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ)का प्रमुख सामन्तकुमार गोयल र कात्तिकको तेस्रो साता भारतकै स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

यस्तो छ काठमाडौं तालिका
भारतीय विदेश सचिव श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गर्ने छन्।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली क्षेत्रलाई समेत समेटेर गत नोभेम्बरमा नक्सा जारी गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदै विरोध गरेको थियो । नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग समेटिएको नक्सा सार्वजनिक गरेपछि भारतले विरोध जनाएको थियो ।

कालापानीको विषयमा कुराकानी गर्न भारतीय पक्ष अनिच्छुक रहँदै आएको बताइएको छ।

भ्रमणको क्रममा विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उनका भारतीय समकक्षी एस. जयशंकरले पठाएको भ्रमणको निम्तो हस्तान्तरण गर्ने संभावना छ।

ज्ञवाली परराष्ट्रमन्त्री भएपछि भारतको औपचारिक भ्रमण गरेका छैनन्। स्रोतहरुका अनुसार मन्त्री ज्ञवालीले डिसेम्बरको मध्यतिर दिल्ली भ्रमण गर्नसक्ने संभावना रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्