नेपाल उद्योग वाणिज्य संघको चुनाव आजः प्रधानमन्त्रीले उद्घघाटन गर्ने – Janadesh Daily | ePaper

नेपाल उद्योग वाणिज्य संघको चुनाव आजः प्रधानमन्त्रीले उद्घघाटन गर्ने


जनादेश, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ । चुनावी साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वेभिनार’मार्फत उद्घाटन गर्नेछन् ।

आज विहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा भोलिदेखि जुम प्रविधिबाट हुने बन्दसत्र संचालन हुने छ । यस्तै निर्वाचन तथा मतदान १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।

कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने पनि महासंघले जनाएको छ । त्यस्ता मतदाताहरु भए आफैं वा आफ्नो संस्थामार्फत यथाशक्य चांडो निर्वाचन समितिलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुनेछन् ।

वरिष्ठ उपाध्यक्षसहित जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फको उपाध्यक्ष एवं कार्यकारी समिति सदस्यका लागि प्यानलसहित नै दुई वटा समूह बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच निर्वाचन हुने छ । ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरु पनि प्यानलमै आवद्ध भएका छन् ।

६४ पदका लागि १२४ जनाको उमेद्वारी

वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि १२४ जनाको उमेद्वारी परेको छ । दुईजना कार्यसमिति सदस्य भने निर्विरोध चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला/नगर तथा एसोसिएटतर्फ एक÷एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२४ जनाको उमेद्वारी परेको हो ।

जिल्ला/नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेद्वारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २८ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३१ जनाको उमेद्वारी परेको छ । एकजना संस्थागत समूहका लागि तीनजनाको उमेद्वारी परेको छ ।

प्रदेशतर्फ वागमती र लुम्बिनी प्रदेशबाट तीन/तीन जनाको उमेद्वारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ६ र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेद्वारी दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्