मोदीको सन्देश बोकेर आएका श्रृंगलालाई नेपालको सन्देश के – Janadesh Daily | ePaper

मोदीको सन्देश बोकेर आएका श्रृंगलालाई नेपालको सन्देश के


जनादेश वाच ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर काठमाडौं आएका भारतका विदेश सचिव हर्षवर्धन श्रींगलाले नेपालका विशिष्ठ व्यक्तिहरुसँग भेटवार्ता गरेर मोदीको सन्देश सुनाएका छन् ।

विमानस्थलमा आएपछि नेपाली भाषामा बोल्दै आफू मित्रताको हात बढाउन आएको सन्देश दिएका श्रृंगलालले श्रृंगलालले नेपालसँग सौहार्द्ध सम्बन्धको पक्षमा रहेको सन्देश दिएका छन् ।

 

ओलीले भने- सीमा लगायतका समस्या संवादबाट सुल्झाऔं 

श्रृंगलालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहीबार साँझ शिष्टाचार भेट गरेका थिए । ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।

श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्।

राष्ट्रपतिले भनिन्- सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याऔं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् । आफूसँग शिष्टाचार भेटका लागि शितलनिवास पुगेका श्रृंगललालाई राष्ट्रपति भण्डारीले उक्त आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेका जानकारी दिए।

विपक्षीको सन्देशः नेपाल-भारत सम्बन्धलाई उच्च महत्व
भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि विहीबार नै शिष्टाचार भेटवार्ता गरे ।

बूढानीलकण्ठमा भएको भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए।

भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको सभापति देउवा प्रधानमन्त्री हुँदा उहाँका सल्लाहकार रहिसकेका भट्टराईले बताए।

श्रृंगला काठमाडौं आएपछि विहीबार नै नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको छ । सीमा विवादका कारण सम्बन्ध चिसिएको अवस्थामा दुई देशका उच्च अधिकारीबीच औपचारिक रुपमा संवाद भएको हो । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर सीमा विवादबारे छलफल नभएको बुझिएको छ। यद्यपि परराष्ट्रले सीमा समस्याबारे आफ्ना धारणा आदानप्रदान भएको दाबी गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्