फुटबलका महान हस्ती म्याराडोनाको भावुक विदाई (फोटो फिचर) – Janadesh Daily | ePaper

फुटबलका महान हस्ती म्याराडोनाको भावुक विदाई (फोटो फिचर)


एजेन्सी ।
फुटबल जगतका महानतम खेलाडी मध्ये एक अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनालाई अन्तिम विदाई गरिएको छ ।

म्याराडोनाको पार्थिव शरीरलाई सानो समारोहबीच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

 

अन्त्येष्टि समारोहमा परिवारका सदस्या, आफन्त र नजिकका साथी गरि झण्डै दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घर म्याराडोनाको पार्थिव शरीर गाडिएको छ ।

म्याराडोनाको कफिन लगिँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका फ्यानहरुले उनको अन्तिम बिदाई गरेका थिए । सहभागीमध्ये अधिकांशका आँखा रसाएका देखिन्थे । कतिपय प्रशंसकले म्याराडोनाको कफिन तर्फ चुम्बन गरेका थिए ।

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गरेको थियो ।

६० वर्षका म्याराडोनाको गएको बुधबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनपछि विश्वभरका फुटबल प्रशंसकहरुले शोक व्यक्त गरिरहेका छन् ।

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले सो विश्वकपमा इंग्ल्याण्ड विरुद्ध हातको सहायताले गरेको गोल निकै चर्चित छ । सोही गोलका कारण म्याराडोनलाई ‘ह्याण्ड अफ गड’ का रुपमा लिने गरिन्छ ।

आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए।

सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो।

२००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे। अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्