विश्वमा चौबीस घण्टामा १० हजार कोरोना संक्रमितको मृत्यु, साढे ५ लाख नयाँ संक्रमित – Janadesh Daily | ePaper

विश्वमा चौबीस घण्टामा १० हजार कोरोना संक्रमितको मृत्यु, साढे ५ लाख नयाँ संक्रमित


एजेन्सी ।

विश्वमा गत चौबीस घण्टामा ५ लाख ४० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १० हजार भन्दा बढी संक्रमितको ज्यान गएको छ ।
योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या ६ करोड १२ लाख पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १४ लाख ३६ हजार पुगेको छ ।

विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर रहेको छ ।

दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ । कोरोना भाइरस विश्वका २१८ मुलुकमा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । बिहिबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्या बढ्दो क्रममा छ । बिहिबार अहिलेसम्मकै उच्च १२ हजार ५३ जनाको मृत्यु भएको थियो ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २७६ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ४९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५७ हजार ३१ पुगेको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार ८५० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १ हजार ५७४ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८५ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६६ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार ७५२ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ । भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४२ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ८ हजार ७५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख १६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।त्यहाँ १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्