प्रचण्डलाई दबाब दिन ओलीको उत्ताउलो रणनीति, हेगको धम्कीसहित जवाफ मिडियामा – Janadesh Daily | ePaper

प्रचण्डलाई दबाब दिन ओलीको उत्ताउलो रणनीति, हेगको धम्कीसहित जवाफ मिडियामा


जनादेश वाच ।
सत्तारुढ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा दुई अध्यक्षबीच यसपटक वारपारकै द्वन्द्ध हुने संकेत देखिएको छ । आफूमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको बदलामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले तर्साउने रणनीतिसहितको जवाफ तयार पारेको केही सञ्चार माध्यममा चुहाइएका विवरणले देखाएका छन् ।

ओलीले आफ्ना पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रुपमा ‘हेग’मा पुर्‍याउने उत्ताउलो चेतावनीसहितको प्रस्ताव तयार पारेको उनका भित्रियाहरुले खुलासा गरेका छन् । केही सञ्चार माध्यममा यस्ता विवरण चुहाएर प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन बाध्य पार्ने रणनीति रहेको भने स्पष्ट छ ।

प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको र ओलीसँग असन्तुष्ट अन्य चारजना केन्द्रीय सचिवालय सदस्यहरुले समेत ‍स्वामित्व लिएको प्रस्तावमा ओलीलाई भ्रष्टाचारलगायत गम्भीर आरोप लगाइएको थियो ।

त्यसको प्रतिउत्तरमा ओलीलगायत उनी पक्षधरका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले बुधबार मध्यरातमा अन्तिम रुप दिएको ४० पाने जवाफी प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको छ।

ओली पक्षले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन अन्तिम समयसम्म दबाब दिइरहेका छन् । प्रचण्डको प्रस्ताव पार्टी किमिटीहरुबाट स्वीकृत हुने सम्भावना रहेको र त्यसो हुँदा ओली अफ्ठेरोमा पर्ने भएकाले ओली पक्ष उत्ताउलो रणनीतिमा उत्रिएको देखिन्छ  ।

ओलीलाई व्याकफायरः मोर्चाबन्दी झनै कसिलो
प्रस्तावमा प्रचण्डले विगतमा गरेका गतिविधिमा बढी केन्द्रीत छ भने उनीबाट पूर्वएमाले पृष्ठभूमिका नेताहरुलाई अलग्याउन खोजेको संकेत पनि गरिएको छ।

तर ओली विरुद्धको मोर्चाबन्दी झनै कसिलो बनेको छ। यसअघि पार्टीमा विवाद हुँदा पूर्वमाओवादी समूहका केही नेताले ओलीलाई साथ दिएपछि उनी बलिया र पुष्पकमल दाहाल प्रचण्ड कमजोर बनेका थिए। यसपटक भने उनीहरुले प्रचण्डलाई नै साथ दिएका छन्।

यसअघि पार्टीमा विवाद हुँदा ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई विभिन्न पदीय आश्वासन दिने गरेका थिए। जसले गर्दा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल तथा प्रभु साह लगायत नेता ओलीको पक्षमा देखिएका थिए। उनीहरुले ओलीको पक्षमा पार्टीभित्र दबाब बढाएका थिए। माओवादी नेतासँगै उपाध्यक्ष वामदेव गौतम पनि अन्तिममा ओलीकै पक्षमा उभिने गरेका कारण प्रचण्ड-नेपाल पक्ष कमजोर बनेको थियो।

तर यस पटक ओली विरुद्ध प्रचण्ड र नेपाल पक्षका नेताहरु एक ढिक्का भएका छन्। विगतमा आफूलाई साथ दिएका प्रचण्ड पक्षका नेताहरु र गौतमलाई पनि आफ्नो पक्षमा ल्याउने ओलीको प्रयास असफल भएको छ। जसले गर्दा उनी अप्ठ्यारो परेका छन्। गौतमको हकमा भने प्रचण्ड-नेपाल र ओली दुवै पक्षले भर गरेका छैनन्। यद्यपि, गौतमले ओलीलाई साथ दिन नसकिने संकेत गरिसकेका छन्।

यो पनि हेर्नुस्- नेकपा सचिवालय बैठकको पूर्वतयारीः दुवै पक्षको अन्तिम रणनीति बन्दै 

प्रचण्ड नेपाल पक्षले यसपटक त्यागको पालो केपी ओलीको रहेको स्पष्ट अडान लिएको छ । भदौ २६ गतेको स्थायी कमिटी बैठकले पनि ओली सुध्रने अपेक्षा गरेपनि सहमतिका आधारमा केपी ओली नसच्चिने देखिएपछि अब प्रक्रियतागत (बहुमतीय विधि)बाट केपी ओलीलाई सुधार्ने निष्कर्षमा इतर समूह पुगेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्