चिनियाँ रक्षामन्त्री वेई फेङ आउँदै, काठमाडौंमा म्याराथन भेटवार्ताको तालिका – Janadesh Daily | ePaper

चिनियाँ रक्षामन्त्री वेई फेङ आउँदै, काठमाडौंमा म्याराथन भेटवार्ताको तालिका


जनादेश वाच ।
चीनका पहिलो वरियताका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

२० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वेइले काठमाडौंमा केही महत्वपूर्ण भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन्। त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन्।

त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्।

त्यसपछि उनी आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ । दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन शृंगला फर्केको २ दिनपछि नै उत्तरी छिमेकी चीनका रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ।

तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्