कर्णाली ।
तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । “आगलागीबाट त्यस्तो कुनै मानवीय क्षति भएको छैन,” प्रहरी नायब उपरीक्षक शाहले भन्नुभयो, “दुई पशुको मृत्यु र एउटा घाइते भएको छ ।”
दलित बस्तीमा आगलागी भएको खबर पाउनेबित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुग्नुभएको थियो । आगलागीबाट घरबासविहीन १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुँडा र केही खाद्यान्न उपलब्ध गराइएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनःस्थापन गरिने तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले जानकारी दिनुभयो ।